अमेरिकी प्रविधि कम्पनी एप्पलले पछिल्लो समय बढ्दो आर्थिक गिरावटलाई रोक्न आगामी वर्षको कर्मचारी भर्ती र खर्चको योजना परिवर्तन गर्ने भएको छ।
ब्लूमवर्ग न्युजले सोमबार उल्लेख गरेअनुसार विश्वको सबैभन्दा मूल्यवान कम्पनीले पनि अन्य प्रविधि कम्पनीले जस्तै कर्मचारी भर्ती घटाउने निर्णय गरेको हो। यसअघि नै मेटा र टेस्लाले पनि कर्मचारी भर्ती घटाउने निर्णय गरिसकेका छन्।
एप्पलको यो घोषणासँगै सोमबार उसको शेयरको भाउ १.६ प्रतिशतले घटेर प्रतिकित्ता १४७.६ डलरमा झरेको छ।
समाचारमा उल्लेख गरिएअनुसार एप्पलको नयाँ योजनाले उसको समग्र टोलीलाई भने कुनै असर गर्ने छैन। साथै कम्पनीले आक्रामकरुपमा नयाँ उत्पादन बजारमा ल्याउने कामलाई पनि निरन्तरता दिने समाचारमा उल्लेख छ।
पछिल्लो समय अमेरिकाको केन्द्रीय बैंकले आक्रामकरुपमा व्याजदर बढाइरहेको छ। अर्थतन्त्रमा संकुचन आउन सक्ने आशंकाको कारण केन्द्रीय बैंकले व्याजदर बढाएको छ।
एप्पलको स्मार्टफोनको व्यापार यस वर्षको दोस्रो त्रैमासमा ९ प्रतिशतले घटेको छ। यद्यपि विश्वभर सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोनको सूचीमा भने एप्पलको आईफोन सबैभन्दा अगाडि छ।
Shares
प्रतिक्रिया