केही समयको रस्साकस्सीपछि अन्ततः इलोन मस्कले सामाजिक सञ्जाल ट्वीटर खरिद गरेका छन्।
सोमबार ट्वीटरको बोर्ड बैठकले मस्कलाई सामाजिक सञ्जाल ४४ अर्ब डलरमा बिक्री गर्ने निर्णय गरेको हो। दुई साताअघि मस्कले ट्वीटर खरिदका लागि प्रस्ताव गरेका थिए।
उनले ट्वीटरमा निकै ठूलो सम्भावना रहेको र आफूले त्यसलाई उजागर गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।
मस्कले ट्वीटरले लगाएको कन्टेन्टमाथिको प्रतिबन्ध हटाउनेदेखि नक्कली एकाउन्ट हटाउनेसम्मका योजना अघि सारेका छन्।
प्रारम्भिक रुपमा यो सम्झौता भए पनि अब ट्वीटरका शेयरधनीहरुले यो सम्झौता पारित गर्नुपर्ने हुन्छ। विश्वको सबैभन्दा धनी व्यक्तिको रुपमा रहेका मस्कको सम्पत्ति २ खर्ब ७३ अर्ब डलरबराबरको छ।
उनको धेरैजसो सम्पत्ति विद्युतीय कार निर्माता टेस्लामा छ। उनी अन्तरिक्ष कम्पनी स्पेसएक्सका पनि मालिक हुन्।
मस्कले ट्वीटर खरिद गरेसँगै सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रतालाई महत्व दिइने बताएका छन्।
साथै उनले आगामी दिनमा नयाँ फिचर ल्याउँदै ट्वीटरलाई थप विश्वसनीय बनाइने बताएका छन्।
ट्वीटरका सीईओ प्रयाग अग्रवालले यो सम्झौता भएसँगै अब ट्वीटर कुन दिशातर्फ जाने भन्ने निश्चित नभएको भन्दै आफ्ना कर्मचारीहरुलाई पत्र लेखेका छन्।
Shares
प्रतिक्रिया