अमेरिकी प्रविधि कम्पनी एप्पलको आईफोन उत्पादन गर्दै आएको भारतस्थित फक्सकोनको कारखाना अब एप्पलको निगरानीमा रहने भएकाे छ।
ठूलो मात्रामा खाद्यान्नमा विषादी पाइएको र मजदुरको जीवनमाथि खेलबाड भएको भन्दै यसअघि भारतको तामिलनाडुमा रहेको उक्त कारखानाको विरोधमा प्रदर्शन भएको थियो।
त्यसपछि फक्सकोन र एप्पल दुवै कम्पनीले उक्त कारखानाको विषयमा अनुसन्धान गरेका थिए। अनुसन्धानको क्रममा उक्त प्लान्टमा मजदुरको आराम र खानाको मापदण्ड पालना नगरिएको पाइएको थियो।
यससँगै कम्पनीले अब उक्त प्लान्टलाई आफ्नो निगरानीमा राख्ने बताएको हो । साथै समस्या समाधान गर्न ‘सुधारको कामलाई’ द्रूत गतिमा कार्यान्वयन गर्ने एप्पलले बताएको छ।
यसअघि फक्सकनको कारखानामा काम गर्ने करिब २५० महिलालाई यसै महिना खाद्य विषाक्तताको उपचार गरिएको थियो र उनीहरूमध्ये १५९ जना अस्पताल भर्ना भएका थिए।
यो घटनापछि गत डिसेम्बर १८ देखि चेन्नई नजिकैको श्रीपेरुम्बुदुरस्थित कारखाना कम्पनीले बन्द गरेको थियो ।
कारखानाले लगभग १७ हजार मानिसहरूलाई काममा लगाएको छ ।
यसले भारतीय बजार र निर्यातका साथै अन्य उपकरणहरूका लागि आइफोन बनाउँछ । कारखानामा सुधारको काम चलिरहँदा त्यहाँ रहेका सबै कर्मचारीको भुक्तानी भने जारी रहनेछ।
Shares
प्रतिक्रिया