अमेरिकी अर्बपति एलन मस्कको स्पेसएक्सको स्याटेलाइट र चिनियाँ स्पेस स्टेसन (सीएसएस)सँग ठोक्किने जोखिम रहेको भन्दै चीनले आपत्ति जनाएको छ।
चीनले संयुक्त राष्ट्रसंघका महासचिवलाई कूटनीतिक नोट लेख्दै यसै वर्ष पनि दुईपटक स्पेसएक्सको स्याटेलाइट सीएसएसको निकै नजिक आएको भन्दै ध्यानाकर्षण गराएको हो।
गत जुलाई १ र अक्टोबर २१ मा आफ्नो अन्तरिक्ष स्टेसन टियानगोङमा रहेका अन्तरिक्षयात्रीले आफ्नो सुरक्षाको लागि अन्य उपाय अपनाउनु परेको चीनले बताएको छ। चीनले बुझाएको कूटनीतिक नोटमा यस किसिमको कार्यले चिनियाँ अन्तरिक्षयात्रीको ज्यान नै खतरामा परेको उल्लेख छ।
चीनले गत अप्रिलमा आफ्नो स्पेस स्टेसन टियानगोङ प्रक्षेपण गरेको थियो। यो स्पेस स्टेसन पृथ्वीको सतहबाट ३९० किलोमिटर टाढाको कक्षमा राखिएको छ।
स्पेसएक्सले भने मेदेखि जुन सम्मको अवधिमा आफ्नो स्याटेलाइटलाई ५५५ किलोमिटरबाट ३८२ किलोमिटरको कक्षमा झारेको थियो। त्यसैले स्पेसएक्सको स्याटेलाइट टियानगोङसँग ठोक्किने जोखिम बढेको हो।
चीनले राष्ट्रसंघलाई सबै पक्षलाई बाहिरी अन्तरिक्ष सन्धी पालना गर्न सम्झाइदिन आग्रह गरेको छ। करिब ४२ हजार स्याटेलाइट प्रक्षेपण गर्ने योजना स्पेसएक्सको छ।
उसले अहिलेसम्म धेरै स्याटेलाइट प्रक्षेपण गरिसकेको छ। साथै उसले निरन्तर उचाइ पनि तलमाथि गर्दै आएको छ।
नासासँग स्पेसएक्सले यसअघि गरेको सम्झौताअनुसार स्पेसएक्सले आफ्नो स्याटेलाइट अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस) वा अन्य नासाका स्याटेलाइटको पाँच किलोमिटर वरपर राख्ने छैन।
Shares
प्रतिक्रिया