जापानका प्राध्यापकहरुले टेलिभिजनको स्क्रिन चाटेर खानेकुराको स्वाद लिन सकिने प्रविधिको विकास गरेका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार जापानी प्राध्यापकहरुले प्रोटोटाइप चाटेर स्वाद लिन सकिने टीभी स्क्रिन बनाएका हुन्। यो प्रविधिबाट टीभीको स्क्रिनमा देखिएको खानेकुराको स्वाद लिन सक्छन्।
यसमा १० ओटा विभिन्न फ्लेभर दिनसक्ने १० ओटा बट्टा राखिएको हुन्छ। तिनै बट्टाहरुले कुनै विशेष किसिमको खानेकुराको स्वाद स्क्रिनमा छर्किन्छन्, जसलाई मानिसहरुले बाहिरबाट चाटेर स्वाद लिन सक्छन्।
मेइजी युनिभर्सिटीका प्राध्यापक होमेई मियाशिताले कोभिड–१९ को महामारीको समयमा यस किसिमको प्रविधिले मानिसहरुलाई बाहिरी विश्वसँगको सम्पर्क बढाउन सहयोग पुग्ने बताए।
यस किसिमको स्क्रिन बनाउनुको उद्देश्य बाहिरी विश्वका रेष्टुरेन्टमा खाना खाएको अनुभव मानिसहरुलाई आफ्नै घरमा दिनु रहेको उनको भनाइ छ।
मियाशिताले विभिन्न फ्लेभर दिन सक्ने डिभाइस निर्माणको लागि ३० विद्यार्थीहरुको टोलीसँग मिलेर काम गरेका थिए।
उनले पछिल्लो एक वर्षमा स्वाद दिन सक्ने प्रोटोटाइप टेलिभिजन बनाएका हुन्।
व्यावसायिकरुपमा यो टेलिभिजनको बिक्री सुरु भएपछि यसको भाउ करिब एक लाख जापानी येन पर्नसक्ने समाचारमा बताइएको छ।
Shares
प्रतिक्रिया