अमेरिकी विदेश मन्त्रालयका कम्तीमा नौ जना कर्मचारीको फोन इजरायली कम्पनी एनएसओले विकास गरेको सफ्टवेयरबाट ह्याक गरिएको खुलेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार विदेश मन्त्रालयका कर्मचारीहरुले बोक्ने गरेको आईफोन ह्याक गरिएको हो।
पछिल्लो केही महिनामा ती कर्मचारीको फोन ह्याक भएको हो। विशेषगरी अमेरिकाको युगाण्डामा रहेका वा पूर्वी अफ्रिकी मुलुकको मामिला हेर्ने अमेरिकी कर्मचारीको फोन ह्याक गरिएको हो।
यद्यपि फोन ह्याक कसले गरेको हो र प्रयोजन के हो भन्नेचाहिँ खुलेको छैन।
एनएसओ कम्पनीले भने आफूहरुलाई यस विषयमा कुनै जानकारी नभएको र यस विषयमा अनुसन्धान सुरु गरिएको बताएको छ।
यस विषयमा युगाण्डास्थित अमेरिकी दूतावासका अधिकारीले भने कुनै प्रतिक्रिया दिएका छैनन्। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले अहिले यो कम्पनीलाई अमेरिकाले कालोसूचीमा राखिसकेको बताए पनि फोन ह्याक भएको विषयमा भने कुनै जानकारी दिएका छैनन्।
यसअघि कम्पनीको सफ्टवेयरबारे विवाद आएसँगै अमेरिकाले एनएसओलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो।
Shares
प्रतिक्रिया