दक्षिण कोरियाले स्वेदशमा बनेको पहिलो अन्तरिक्ष रकेट प्रक्षेपण गरेको छ। बिहीबार दक्षिण कोरियाको राजधानी सहर सोलको दक्षिणतर्फ रहेको गोहियुङबाट नुरी नामक अन्तरिक्ष रकेट प्रक्षेपण गरिएको हो।
दक्षिण कोरिया सफलतापूर्वक अन्तरिक्षमा रकेट पठाउने सातौं मुलुक हो।
पछिल्लो समय उत्तर कोरियासँग हतियारको स्पर्धा चलिरहेको समयमा दक्षिण कोरियाले अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको हो।
हालै मात्र दुवै कोरियाली मुलुकले नयाँ हतियार प्रक्षेपण गरेका थिए। दक्षिण कोरियाले सन् २०२७ सम्ममा थप चारओटा रकेट प्रक्षेपण गर्ने लक्ष्य राखेको छ।
दक्षिण कोरिया प्रविधिको पावरहाउसको रुपमा रहँदै आए पनि अन्तरिक्षसम्बन्धी अन्वेषणको मामिलामा भने पछाडि रहँदै आएको छ।
यसअघि सन् २००९ र २०१० मा पनि दक्षिण कोरियाले अन्तरिक्षमा रकेट पठाउने प्रयास गरेको थियो तर सफल हुन सकेको थिएन। दक्षिण कोरियाले सन् २०३० सम्ममा चन्द्रमामा रकेट पुर्याउने लक्ष्य राखेको छ।
Shares
प्रतिक्रिया