अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफ्नै सामाजिक सञ्जाल ल्याउने घोषणा गरेका छन्। फेसबुक र ट्वीटरले प्रतिबन्ध लगाएपछि सामाजिक सञ्जालमा सक्रिय नरहेका ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ल्याउने घोषणा गरेका हुन्।
यसअघि अमेरिकाको क्यापिटल हिलमा भएको आक्रमणबारे दिएको अभिव्यक्तिलाई लिएर फेसबुक र ट्वीटरले ट्रम्पमाथि प्रतिबन्ध लगाएका थिए। त्यससँगै उनले आफैंले नयाँ सामाजिक सञ्जाल ल्याउन सक्ने संकेत गरेका थिए।
ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुप (टीएमटीजी) को मातहतमा ट्रम्पले ‘ट्रुथ सोसल’ लागेका हुन्। आगामी महिनाबाट केही सीमित प्रयोगकर्ताबाट यसको सुरुवात हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन्। टीएमटीजीका अनुसार यो एप अहिले नै एप्पलको एप स्टोरमा उपलब्ध छ।
प्रतिबन्ध लाग्नुभन्दा पहिला ट्रम्पले आफ्ना कुराहरु विशेषगरी ट्वीटरको माध्यमबाट प्रयोगकर्तामाझ पुर्याउँदै आएका थिए। आफ्नो सामाजिक सञ्जाल ल्याउने घोषणा गर्दै ट्रम्पले भनेका छन्, ‘हामी यस्तो संसारमा छौं, जहाँ ट्वीटरमा तालिबानको ठूलो उपस्थिति छ तर तपाईंहरुले रुचाएको राष्ट्रपति (ट्रम्प स्वयं)लाई भने रोक लगाइएको छ। यो स्वीकार्य छैन।’
गत मे महिनामा ट्रम्पले ‘फ्रम द डेस्क अफ डोनाल्ड ट्रम्प’ नामको एक ब्लग सुरु गरेका थिए। तर, एक महिनामा नै यो ब्लग बन्द गरिएको थियो।
यस वर्षको सुरुमा ट्रम्पका पूर्व सहयोगी जसोन मिलरले पनि आफ्नै सामाजिक सञ्जाल ल्याएका थिए। तर, ट्रम्प भने अझै पनि यसमा जोडिएका छैनन्।
Shares
प्रतिक्रिया