शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नवौ राष्ट्रिय विज्ञान दिवसको उपलक्ष्यमा सोमबारदेखि विज्ञान सप्ताह मनाउन सुरु गरेको छ।
यसवर्षको विज्ञान दिवसको नारा विज्ञान र प्रविधिको उन्नत विकासः प्रकोप र महामारीबाट सहज निकास तय गरिएको छ।
नेपालको पहिलो विज्ञान क्याम्पस अमृत साइन्स क्याम्पस स्थापनाको अवसर पारि हरेक बर्ष असोज महिनाको १ गते राष्ट्रिय विज्ञान दिवस मनाउने गरिन्छ। २०६९ मंसिरबाट सरकारले विज्ञान दिवस मनाउँने निर्णय गरेको थियो ।
मन्त्रालयका विज्ञान प्रविधितर्फका सचिव सुरेश आचार्यका अनुसार विज्ञान, प्रविधि तथा नवप्रवर्तनको क्षेत्रमा भएका अध्ययन, अनुसन्धान र नवप्रवर्तनीय खोजमूलक विषयहरुको प्रचार प्रसार गरी आम नागरिकलाई सुसूचित गराउन र वैज्ञानिक तथा नव प्रतिभाहरुलाई प्रोत्साहित गर्ने उद्देश्य यस वर्षको विज्ञान दिवसले बोकेको छ।
विश्वमा व्याप्त कोभिड-१९ को महामारी, जलवायू परिवर्तन, लगायत अन्य प्राकृतिक प्रकोपवाट श्रृजित समस्याहरुको न्युनिकरण गर्दै महामारीबाट बच्न विज्ञान प्रविधिको उच्चतम विकास एवं प्रयोग गर्नुपर्ने आजको आवश्यकता भएको कुरालाई मनन् राष्ट्रिय विज्ञान दिवस मनाउँन लागिएको उनले जानकारी दिए।
मन्त्रालयले राष्ट्रिय विज्ञान दिवसको सप्ताहव्यापी कार्यक्रमलाई प्रभावकारी, व्यवस्थित र उपलब्धिमूलक बनाउन मूल समारोह समिति, प्रचारप्रसार समिति, कार्यक्रम कार्यान्वयन समिति, प्रकाशन तयारी उप-समिति, पुरस्कार छनौट उप- समिति, विज्ञान कुटनीति समन्वय उप-समिति गठन गरेको छ।
सप्ताहव्यापी कार्यक्रममा विज्ञान र प्रविधिको उपयोगको विस्तार वारे जनचेतना फैलाउने,वैज्ञानिक खोज तथा अनुसन्धानमा संलग्न नव-प्रतिभाहरुलाई प्रोत्साहित गर्ने, वैज्ञानिक खोज तथा अनुसन्धानमा योगदान गर्ने उत्कृष्ट प्रतिभालाई सम्मान तथा पुरस्कृत गर्ने,विज्ञान प्रविधि अध्ययन अध्यापनमा विद्यार्थी तथा शिक्षकहरुलाई आकर्षित गर्ने, युवा जनशक्तिलाई स्वदेशमानै रहेर रोजगारीको वातावरण सिर्जना गरी प्रतिभा पलायनको प्रवृत्तिलाई न्युनिकरण गर्ने तथा देशभित्र विज्ञान, प्रविधि र नवप्रवर्तन भित्र्याउन विज्ञान कुटनीति मार्फत पहल गर्ने लक्ष्य लिइएको छ ।
मन्त्रालयले विज्ञान दिवसलाई भव्यताका साथ मनाउन सबै प्रदेश प्रमुख कार्यलयहरुमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सबै स्थानीय निकायहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत पत्राचार भईसकेकोछ जनाएको छ।
त्यसबाहेक विश्वविद्यालय, निजी तथा आवसिय विद्यालय अर्गनाईजेसन (प्याब्सन), राष्ट्रिय निजी तथा आवसिय विद्यालय एसोसियसन नेपाल (एन-प्याब्सन, उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाललाई विभिन्न कार्यक्रम गरी सप्ताहव्यापी कार्यक्रम आयोजना गर्नेछन्।
यसै गरी असोज १ गते हुन मुल कार्यक्रममा विभिन्न छ वटा विधामा पुरस्कार प्रदान गरिने भएको छ। जसमा विज्ञान पत्रकारिता पुरस्कार, एरोनोटिकल प्रविधि, अन्तरिक्ष प्रविधि, उदीयमान प्रविधि,विपद् न्यूनिकरण सम्बन्धी प्रविधि र जैविक प्रविधितर्फ एक एकजनालई पुरस्कृत गरिने भएको छ।
Shares
प्रतिक्रिया