अनलाइन गेमहरुले ल्याएको समस्याबारेको मुद्दा संघीय संसदमा पनि पुगेको छ। अनलाइन गेमको कुलतले बालबालिकाहरुमा मानसिक समस्या बढ्दै गएको भन्दै सांसद आशाकुमारी विकले यसलाई तत्कालन प्रतिबन्ध लगाउन सरकारसँग माग गरेकी हुन्।
प्रतिनिधि सभाको मंगलबार बसेको बैठकको शून्य समयमा आफ्ना भनाइ राख्दै बालबालिका र किशोरकिशोरीलाई कुलतमा फसाउने यस्ता अनलाइन गेम बन्द गर्न सरकारलाई गरेकी हुन्।
‘नेपालमा इन्टरनेट प्रयोग बढ्दो छ। यो हामी सबैलाई खुशीको कुरा हो', उनले भनिन्, 'तर, पब्जी र फ्री फायर जस्ता खेलको कुलतमा बालबालिका पर्दै गएका छन्। यी गेमको कुलतले उनीहरु डराउने, झस्किने र जिद्दी हुने जस्ता समस्या देखिएका छन्। यस्तै रहिरहे उनीहरु मानसिक रोगी हुने डर भएको छ। त्यहीकारण यस्ता अनलाइन गेम बन्द गरिनु जरुरी भएको छ।'
सांसद विकले सरकारबाट यी अनलाइन गेम बन्दको पहल नभए अभिभावहरु अदालत जाने दिन आउने पनि बताइन्। 'सरकारले यी गेम बन्द नगरे अभिभावक अदालत जानुपर्ने दिन आउछन्', उनले भनिन्, 'अनलाइन गेमको यस्तै असर कायमै रहे भविष्यमा मानसिक अस्पतालमा सिट नपाउने अवस्था आउँछ। मानसिक अस्पताल पनि कमी हुन सक्छन्।'
Shares
प्रतिक्रिया