प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अघि सारेको ६ बुँदे प्रस्तावको विषयमा माधवकुमार नेपाल पक्षले छलफल र आपसी सल्लाहपछि मात्रै प्रतिक्रिया व्यक्त गर्ने भएको छ।
सो पक्षका नेताले प्रधानमन्त्री ओलीबाट आएको विषयमा गम्भीरतापूर्वक अध्ययन गरेर मात्रै प्रतिक्रिया व्यक्त गर्ने बताएका छन्।
‘यस विषयमा छलफल हुन्छ, ध्यानपूर्वक अध्ययन हुन्छ र त्यसपछि यसमा प्रतिक्रिया व्यक्त गर्दछौ,’ नेकपा एमालेका उपमहासचिव घनश्याम भूसालले भने।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षले पार्टीभित्रको समस्या समाधानका लागि यो माग प्रमुख रुपमा उठाउँदै आएको थियो।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चासँग माधव नेपाल पक्षको गठबन्धन बलियो बन्दै गइरहेका बेला प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले सो निर्णय गरेका हुन्।
‘नेकपा एमालेलाई २०७५ जेठ ३ को अवस्थामा अघि बढाइने छ’ प्रस्तावमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरु मध्ये एकताको पक्षामा उभिनुभएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुनेछ।’
यस्तै, प्रस्तावमा भनिएको छ, ‘मातहतका पार्टी कमिटी र जनसंगठनहरु मूलभूतरुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने पनि जनाएका छन्।
ओलीले सो प्रस्तावमा ‘आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुने अपेक्षा गरेका छन्।
तर उनले यसबीचमा एमालेका नेताहरुबाट भएका ‘गल्ति कमजोरी’ का विषयलाई लिएर कुनै कारबाही नगरिने भनी आश्वस्त समेत पारेका छन्।
यो पनिः
- एमाले २०७५ जेठ २ मा फर्कने ओलीको घोषणा, पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव
प्रतिक्रिया