ad ad

म्यागेजिन


महेन्द्रको ‘कू’ विरुद्ध लडेका जेठो वकिल भन्छन्ः संसद् पुनर्स्थापना नभए संविधान जलाइदिए हुन्छ (भिडियो)

महेन्द्रको ‘कू’ विरुद्ध लडेका जेठो वकिल भन्छन्ः संसद् पुनर्स्थापना नभए संविधान जलाइदिए हुन्छ (भिडियो)

सागर न्यौपाने
पुस २२, २०७७ बुधबार १४:१७,

देशमा भर्खरै पहिलो आम चुनाव भएको थियो। दुई तिहाइ सिट जितेर बीपी कोइराला प्रधानमन्त्री भएका थिए। विश्वका अरु थुप्रै मुलुकमा जस्तै नेपालमा पनि लोकतान्त्रिक प्रणालीको जग बस्दै थियो। तर, २०१७ साल पुस १ गते राजा महेन्द्रले सैन्य ‘कू’ मार्फत कोइरालालाई अपदस्थ गरे र जेलमा कोचे।

युवा वकिल कृष्णप्रसाद भण्डारीलाई यो कुरा चित्त बुझेन। उनी राजाको कदमलाई चुनौती दिन तत्कालीन प्रधानन्यायालय पुगे।

तर, सैन्य बलका आधारमा भर्खर टुसाउन थालेको व्यवस्थालाई नै मास्न उद्यत तानाशाहको पकडमा थियो देश। राज्यका सबै अंगमा राजाकै हैकम थियो। अदालत पनि त्यसबाट अछुतो थिएन। भण्डारीको कानुनी शासनको सविनय बिन्तीलाई त्यो अदालतले अश्लील प्रलाप ठान्यो।

Krishna Bhandari3

‘मेरो रिट खारेज भयो,’ भण्डारी सम्झिन्छन्, ‘त्यसमा राजा महेन्द्रको शक्तिले काम गरेको थियो।’

त्यसको ठ्याक्कै ६० वर्षपछि तिनै भण्डारी उस्तै प्रकृतिको रिट लिएर सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन पुगेका छन्। फरक यति हो, ६० वर्षअघि गद्दीमा राजा महेन्द्र थिए, आज प्रधानमन्त्री केपी ओली।

९४ वर्ष पुगिसकेका भण्डारी उतिबेलाजस्तो जवान त छैनन्, तर कार्यकारी प्रमुखले नै संविधानको धज्जी उडाएको हेरेर बस्न उनको मन मान्दैन।

प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटन गर्ने पुस ५ को कदमले देशमा हलचल ल्याएको छ। राजनीतिक दलका बैठकदेखि चिया पसलसम्म उही चिन्ता व्यक्त गरिँदैछ– प्रधानमन्त्रीको लहडले देशलाई पुनः अस्थिरताको भुमरीमा ठेल्ने त होइन?

प्रधानमन्त्रीको सो कदम बदर गर्न माग गर्दै सर्वाेच्चमा दर्जन बढी रिट दायर भएका छन्। जसमध्ये एउटा रिट भण्डारीले दायर गरेका छन्।

Krishna Bhandari4

पुस १३ गते प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर राणाको इजलासमा बहस गर्दै भण्डारीले सर्वाेच्चले संविधानको व्याख्या गरेर प्रधानमन्त्री ओलीको असंवैधानिक कदम खारेज गर्नुपर्ने तर्क राखेका थिए।

‘२०४७ सालको संविधानमा प्रधानमन्त्रीलाई विघटनको अधिकार दिएकैले दुईपटक घाउ लागेपछि संविधानसभाका सभासदहरूले त्यो हटाइदिएका छन्,’ भण्डारी भन्छन्, ‘तर, प्रधानमन्त्रीले फेरि तेस्रो घाउ लगाउने प्रयत्न गरे। यसलाई सफल हुन नदिन म सर्वाेच्चमा बहस गरिरहेको छु।’

सर्वाेच्चमा संभवतः सबैभन्दा बढी वकालत गरेका भण्डारी सरकारका हरेक असंवैधानिक कदमविरुद्ध लड्दै आएका छन्। उनले गरेका अधिकांश बहस संवैधानिक विषयसँग सम्बन्धित छन्।

‘संविधानको पालना सबैले गर्नुपर्छ, नगरे त्यसले देशलाई अस्तव्यस्त बनाउँछ,’ भण्डारी भन्छन्।

२०५१ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसदमा आफ्नो बहुमत हुँदाहुँदै संसद् विघटन गरिदिए। कोइरालाको तजबिजी निर्णयविरुद्ध पनि भण्डारी सर्वाेच्च गए। तर, अदालतले कोइरालाको कदमलाई नै सदर गरिदियो।

Krishna Bhandari2

ओली निर्वाचित तानाशाह बन्ने बाटोमा
मोबाइल नबोक्ने भण्डारीसँग सम्पर्क गर्न कठिन छ। आइतबार र सोमबार उनलाई भेट्ने प्रयास खेर गयो। काठमाडौंको थापागाउँस्थित भण्डारीको घरमा भेटिएका उनका नाति रिजु रोहितले भने, ‘कता जाने भनेर निस्किनुहुन्न। हाम्रो पुतलीसडकमा अर्काे घर छ, त्यहाँ हुनुहुन्छ होला।’

तर, उनी पुतलीसडकमा पनि भेटिएनन्। कसैले सुझायो– उनी सर्वोच्च अदालत गएका हुन सक्छन्। तर, सर्वाेच्चका सबैले चिन्ने ‘भण्डारी गुरु’ त्यहाँ पनि भेटिएनन्।

सोमबार साँझमा बल्ल ल्यान्डलाइन टेलिफोनमा सम्पर्क भयो र उनले मंगलबार बिहान पुतलीसडकमा भेट्ने समय दिए।

‘सबैभन्दा जेठो, सिनियर एडभोकेट, लाइसेन्स नम्बर एक,’ भेट्नेबित्तिकै भण्डारीले आफूलाई चिनाए, ‘न्यायिक क्षेत्रको सबैभन्दा टप मान्छे।’

उनको यो स्वपरिचयमा आत्मप्रशंसाको पुट कत्ति पनि थिएन। त्यसैले स्वभाविक सुनिन्थ्यो।

आफूलाई पढ्न खुब मनपर्ने र उमेरले पनि त्यसमा हालसम्म खासै प्रभाव नपारेको उनको भनाइ छ।

‘कानुनको सबै कुरा अझै फरर भन्दिन सक्छु,’ उनले थपे।

‘तपाईंलाई भेट्न निकै कठिन भयो नि?’ मैले गुनासो गरेँ।

‘मलाई मोबाइल बोक्नै मन लाग्दैन,’ उनी दृढ देखिए, ‘यही ल्यान्डलाइनबाटै काम चलेको छ।’

कुराकानी मुख्य विषयमा प्रवेश गर्‍यो।

‘यो संविधानमा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार कहाँ दिएको छ?’ उनले टेबलको संविधानको किताब उचालेर प्रश्न गरे।

ओलीको कदम महेन्द्रको ‘कू’ सँग तुलनायोग्य भएको उनको जिकिर छ।

‘बल्ल प्रजातन्त्र आएर जननिर्वाचित सरकारले काम गर्न थालेको बेला महेन्द्रले कू गरे। प्रजातन्त्र मासेर पञ्चायती व्यवस्था सुरु गरे,’ उनले जोसिलो आवाजमा भने, ‘अहिले त्यसैगरी ओलीले गणतन्त्र नै धरापमा पार्ने कोसिस गरेका छन्।’

गणतान्त्रिक विधिविधान मिचेर ओली तानाशाह बन्न खोजेको उनको विश्लेषण छ।

‘गणतन्त्र आएपछि अब त स्थिरता आयो, कानुनको पालना होला भनेको झन् जनताले चुनेका जनप्रतिनिधि ओली नै तानाशाह भएर निस्किए,’ निर्वाचित जनप्रतिनिधि कसरी तानाशाह बन्छन् भनेर हिटलरको उदाहरण दिँदै उनले व्याख्या गरे, ‘हिटलर पनि जनताले चुनेका व्यक्ति थिए, तर तानाशाह बनेका थिए। त्यस्तै जनताले चुनेका ओलीपनि अधिनायकवादी नीति लिएर अघि बढे।’

यसैलाई रोक्न आफूले रिट हालेको उनको भनाइ छ।

‘प्रधानमन्त्रीले पार्टीको झगडामा संविधान बिगारे। प्रचण्ड–माधवलाई तर्साउन संसदै मारे,’ उनले भने, ‘पार्टीको झगडामा प्रतिनिधि सभा विघटन गर्ने यो तानाशाही प्रवृत्ति हो।’

Krishna Bhandari5

छैन अदालतको भर
भण्डारीले कानुनी अभ्यास थालेको ६ दशक पुग्न लाग्यो। उनी अदालतका हरेक बेथितिसँग परिचित छन्। त्यसैले प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्दामा अदालतबाट आउने फैसलाप्रति उनी ढुक्क हुन सकेका छैनन्।

‘अहिले पनि मलाई सर्वाेच्चबाट आउने फैसलामा शंका छ,’ उनले भने, ‘किनकि अहिलेको अदालत स्वतन्त्र छैन। सरकारको मातहत छ, सरकार र अदालत मिलेका छन्। यस्तो बेला कसरी न्यायालय शुद्ध हुन्छ? ९९ प्रतिशत न्यायाधीश र ९८ प्रतिशत वकिल भ्रष्ट छन् भनेर एकजना प्रधानन्यायाधीशले मैसँग भन्नुभएको छ।’

यद्यपि संविधानअनुसार गर्नै नमिल्ने काम प्रधानमन्त्री ओलीले गरेकाले अलिअलि आशा बाँकी रहेको उनको भनाइ छ।

बुधबारबाट यो मुद्दामा सुरु भएको सुनुवाइमा बहस गर्दै भण्डारीले अदालतले संविधानको व्याख्या गर्दा संविधान निर्माताहरुको मनसाय के थियो, हेर्नुपर्ने तर्क अघि सारेका थिए।

ओलीको कदममा अंकुश लगाउने अन्तिम स्थान अदालत नै भएको र त्यसले पनि लत्तो छाडे संविधान नै निकम्मा हुने चिन्ता उनलाई छ।

‘यदि प्रतिनिधि सभा पुनर्स्थापना भएन भने यो संविधान जलाइदिए हुन्छ,’ गम्भीर भएर भण्डारीले भने, ‘किनभने त्यसपछि अव्यवस्था हुन्छ। सडक आन्दोलन सुरु हुन्छ। फेरि उही भद्रगोल निम्तिन सक्छ।’

प्रधानन्यायाधीश राणाले मुद्दाको सुनुवाइ बृहत् पूर्ण इजलासको सट्टा संवैधानिक इजलासमा गराएकोमा पनि भण्डारीको असहमति छ।

‘२०५२ सालमा प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको संसद विघटनविरुद्धको मुद्दाको सुनुवाइमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा ११ न्यायाधीश थिए,’ उनले भने, ‘प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा श्रीमानले ५ जना तोक्नुभयो, संवैधानिक इजलासमा लगेर। अदालतले यसअघिको फैसलालाई पनि नजिर मान्छ। त्यसैले अहिले ५ जनाले प्रधानमन्त्रीको पक्षमा फैसला दिन सक्दैनन्। विघटनको फैसला गर्न १२ भन्दा बढी न्यायधीशले निर्णय दिनुपर्छ।’

तर, नजिर, मिसिल र कानुनका बुँदालाई अहिले ख्याल नगरिने हो कि भन्ने चिन्ता लागेको उनले बताए।

Krishna Bhandari6

वकिलहरुका गुरु
कृष्णप्रसाद भण्डारीको जन्म वि.सं. १९८४ साल जेठ २८ गते रौतहटको गौरमा बुबा पशुपति भण्डारी र आमा चन्द्रकला भण्डारीको कोखबाट भएको थियो। उनी हुर्किंदै गर्दा रौतहट, बारा र सर्लाहीमा कम्युनिस्टहरुले किसान आन्दोलन सुरु गरेका थिए। उनीहरुले महाजनहरुबाट तमसुक खोसेर जलाउने अभियान चलाएका थिए।

रौतहटका धनाढ्य उनका बुबाले पनि तमसुक च्याते।

‘पिताजीले करिब डेढ लाख रुपैयाँको तमसुक च्यात्नुभयो,’ भण्डारी सम्झिन्छन्, ‘त्यही अभियानले हामीलाई कम्युनिस्ट समर्थक बनायो। आफ्नै तमसुक च्यातेर हिँडेपछि अरु पनि प्रभावित भए।’

तमसुक च्यातेसँगै उनको परिवारको आम्दानी घट्यो। दाजुभाइ लाखापाखा लाग्न थाले। यही मेसोमा उनी २०११ सालमा काठमाडौँ आए र बागबजारमा डेरा लिएर पढ्न थाले।

ल क्याम्पसबाट एलएलबी उत्तीर्ण गरेपछि उनले २०१४ सालमा वकालत थाले।

‘तमसुक च्यातेपछि सुरु भएको अभावले हामीलाई प्रगति गर्न सिकायो,’ उनी भन्छन्, ‘दाजुभाइमा अहिले कोही काठमाडौंमा जमेर बसेका छौं, कोही अमेरिकामा छन्।’

नेपाल ल फर्मका सञ्चालक हुन् उनी। निकै पुरानो यो ल फर्मले अनेकौँ दिग्गज वकिल उत्पादन गरेको छ। वास्तवमा यो ल फर्मले वकालत व्यवसायलाई नै संस्थागत गर्न महत्वपूर्ण भूमिका खेलेको वकिलहरु बताउँछन्। पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्ददेखि न्यायाधीश लक्ष्मण अर्यालसम्म यही फर्मका उत्पादन हुन्।

भण्डारीले चार जनाको नाम लिए– कुशल श्रेष्ठ, कृष्णप्रसाद पन्त, लवदेव भट्ट र लोकेन्द्रबहादुर चन्द। त्यसमध्येमा चन्द प्रधानमन्त्री र अरु तीन जना ‘टप जुरिस्ट’ बनेको उनको भनाइ छ।

एमए, एलएलबी पढेर पनि प्रहरी इन्सपेक्टर बन्न खोजिरहेका चन्दलाई आफैँले ल फर्ममा ल्याएको उनले बताए।

‘मेरो ल फर्ममा चारपाँच महिना बसेर काम सिके, त्यसपछि बैतडी गएर वकिल भए। राष्ट्रिय पञ्चायतको सदस्य हुँदै प्रधानमन्त्री भए,’ भण्डारीले भने।

त्यसैले नेपाल बार एसोसियसनमा दुई कार्यकाल अध्यक्ष समेत रहेका भण्डारीलाई धेरै वकिलले गुरु मान्ने गर्छन्।

Krishna Bhandari8

९४ वर्षीयको फूर्ति  
उमेरले शतकीय पारी पुरा गर्न लागे पनि भण्डारीको जोस उत्तिकै छ। उनी हम्मेसी गाडी चढ्दैनन्। थापागाउँदेखि पुतलीसडक र त्यहाँबाट सर्वाेच्च अदालतसम्म पैदलै पुग्छन्।

आफू एक घण्टामा थापागाउँदेखि सर्वाेच्च पुग्ने गरेको उनले बताए। उनलाई हिँड्दा कालो रङको लठ्ठीले भरथेग गर्छ।

‘लठ्ठी टेकेर हिँड्छु, सानो ढुङ्गाले पनि हामीलाई लडाउन सक्छ,’ भण्डारीले भने, ‘लडियो भने डेढ वर्ष उठ्नै सकिँदैन, त्यही भएर सम्हालिएर, विस्तारै हिँड्छु।’

तीन छोरा र दुई छोरीका पिता हुन भण्डारी। उनका छोरी र नातिनी पनि वकिल नै छन्। छोरी वरिष्ठ अधिवक्ता छिन्। नातिनीले भारतको पुणेबाट कानुन विषयमा एलएलएम सकेर वकालती काम सुरु गरेकी छिन्।

अर्बौँको सम्पत्तिका मालिक भण्डारीले २०२२ सालमा पुतलीसडकमा घर बनाएका थिए भने २०२५ सालमा थापागाउँमा। आफूलाई धनाढ्य भन्न रुचाउने उनी दिउँसो एउटा घरमा समय बिताउँछन् भने राति अर्कोमा।

‘थापागाउँमा झण्डै चार रोपनी जग्गासहितको घरमा राति सुत्छु। त्यहाँ बिहानको खाजा खाएर हिँड्दै पुतली सडकमा रहेको अर्काे घरमा पुग्छु, दिउँसोको खाना त्यहीँ खाएर सर्वाेच्च जान्छु,’ उनले आफ्नै दैनिकी बताए, ‘तर, मसँग कार छैन।’

ज्यान बिग्रिने डरले आफूले हिँड्नमा जोड दिएको उनको भनाइ छ।

‘९४ वर्षको भएँ, अहिले बसिराखियो भने ज्यान झन् बिग्रने रहेछ,’ उनी भन्छन्, ‘मासु तह लगाउन पनि हिँड्छु। पैसा नभएर होइन।’

उनको जोस देख्दा लाग्छ, फूर्ति होस् त ९४ वर्षीयको जस्तो।

Krishna Bhandari7

‘न्यायाधीश घुस्याहा भए, वकिल दलाल’
भण्डारीले न्यायाधीश र अदालतमाथि निरन्तर खबरदारी गर्दै आएका छन्। त्यसैले वकालती जीवनमा पाँच पटक उनले अवहेलनाको मुद्दा खेपिसकेका छन्।

पहिलो पटक २०१६ मा परेको त्यस्तो मुद्दामा आफूले २ रुपैयाँ जरिवाना तिरेको उनी सम्झिन्छन्।

पाँचौँ मुद्दाले भने उनलाई अप्ठ्यारै पारेको थियो। उनले भनेका थिए– ‘घुस्याहा न्यायाधीश होइन, प्रधानन्यायाधीश हो।’

‘जीवनमा ५ वटा अवहेलनाको मुद्दा पर्‍यो, वकिलको निम्ति त्यो सबैभन्दा पीडाजनक हुन्छ,’ भण्डारी भन्छन्, ‘सबै मुद्दा न्यायाधीश र प्रधानन्यायाधीशविरुद्ध बोलेको भएर परे। पाँचौँ मुद्दाले मलाई ४ वर्ष तारेख धाउन बाध्य बनायो।’

पञ्चायतमा अञ्चलाधीश बन्न उनकै कतिपय चिनजानका मानिसले २० हजार, ४० हजार घुस खुवाएको उनी सम्झिन्छन्। अहिले न्यायाधीश नियुक्तिमा त्यस्तै बेथिति रहेको उनको भनाइ छ।

‘नेताको नजिकको मानिस टप्प टिपेर लैजाने र न्यायाधीश बनाउने। त्यसले संविधान हेर्छ कि नेताको मुख? नेताको कुरा सुन्छ कि संविधानको व्याख्या गर्छ?’ भण्डारीको प्रश्न छ।

अधिकांश वकिल दलाल बनेको उनको आरोप छ।

‘वकिल स्वतन्त्र छैनन्, किन छैनन् भन्दा मन्त्रीको, नेताको चाकडी र दलाली वकिलले गर्न थाले,’ उनी भन्छन्, ‘घुस्याहा न्यायाधीशको दलाली गर्न थाले। बिचौलियाको काम गर्न थाले, अधिकांश वकिल बिचौलिया दलाल र दास भए।’

‘त्यसैले कहिलेकाहीँ स्वतन्त्र न्यायालय भन्नेमै मलाई विश्वास लाग्दैन,’ उनले निराशा व्यक्त गरे।

भिडियोः

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .