ad ad

म्यागेजिन


२० वर्षदेखि कलिला मुटु जोगाइरहेकी डाक्टर उर्मिला

२० वर्षदेखि कलिला मुटु जोगाइरहेकी डाक्टर उर्मिला

उर्मिला आमाको व्यथा देखेर डाक्टर बनेकी थिइन्, तर उनको मन बच्चाको मुटुमा बस्यो। तस्बिर : सरोज नेपाल


राधिका अधिकारी
असार २२, २०८१ शनिबार ६:३०, काठमाडौँ

हाम्रा डाक्टर–१

कक्षा ५ मा पढ्दै थिइन्। आमा बिरामी परिन्। आमाको पेट केही दिन दुखिरह्यो। कम्पाउन्डर (हेल्थ असिस्टेन्ट) ले दिएको ओखतीले निको  भइन्। उनीहरू नै उनको फेमिली फिजिसियन थिए, नजिक र चिनजानका डाक्टर थिएनन्। त्यही बेला उर्मिला शाक्यलाई लाग्यो- मैले डाक्टर बन्नुपर्छ। 

त्यसबेला केही रोगलागे पछि कम्पाउन्डरले नै निको पारिदिन्थे। अस्पतालको संख्या न्यून थियो। भएका अस्पतालमा पनि महिला डाक्टरको संख्या कम थियो। धेरैजसो महिला पनि आफ्ना रोग लिएर अस्पताल जान लजाउँथे। रोग पालेर घरमै बस्थे।

बुबा अष्टवरसिंह शाक्य र आमा सानुहिरा शाक्यको दोस्रो सन्तानका रूपमा काठमाडौँको इटुम्बहालमा डा. उर्मिलाको जन्म भएको थियो।बुबा आर्टिस्ट थिए, आमा एक कुशल गृहिणी। उर्मिलाले अस्कल कलेजबाट आईएस्सी पास गरिन्।

सन् १९८५ मा नेपाल सरकारको छात्रवृत्ति पाएपछि उनले चीनको बेइजिङ मेडिकल युनिभर्सिटीबाट सन् १९९२ मा एमबीबीएस पास गरिन्। त्यसपछि नेपाल आएर काम गरिन्।

गर्भवती महिलाबाट बच्चामा सरेको ध्यान
१९९२ मा चीनबाट नेपाल फर्किएकी उर्मिलाको चिकित्सकीय यात्रा काठमाडौँको परोपकार प्रसूति गृहबाट सुरु भयो। गाइनोकोलोजी वार्डमा ३ महिना काम गरेपछि उनको ध्यान बच्चाको उपचारतर्फ तानियो। भर्खर जन्मिएका शिशु विभिन्न कारण एनआईसीयूमा भर्ना हुन्थे। प्रसूति गृहमा ‘स्पेसल केयर बेबी युनिट’ थियो। त्यहाँ काम गर्ने अग्रजहरू उनको रुचि सुनेर खुसी भए।

त्यसपछि ३ वर्ष सोही युनिटमा रहेर बच्चाको स्याहार गरिन्। नवजात शिशुको स्वास्थ्यका बारेमा बुझेपछि उनलाई बालबालिको उपचारमा लाग्न मन लाग्यो। उनी कान्ति बाल अस्पताल गइन्। त्यहाँ गएको केही महिनामा स्नातकोत्तर गर्न उनले पुनः छात्रवृत्ति पाइन्। स्नातकोत्तर गर्न चीनको पहिलेकै मेडिकल युनिभर्सिटीमा भर्ना भएकी उनले यसपटक बच्चाको मुटु (कार्डियोलोजी) सम्बन्धी थप अध्ययन गरिन्। अध्ययनमा जानुअघि नै एक दिन कान्तिमा केही महिनाको शिशु उपचारका लागि ल्याइएको थियो।

उर्मिलालाई बच्चाको मुटुमा समस्या छ भन्ने शंका लाग्यो। शंका निवारणका लागि बच्चाको इकोकार्डियोग्राम गर्ने विशेषज्ञ तथा उपकरण थिएनन्। सोही कारण स्नातकोत्तरपछि उनले बच्चाको इकोकार्डियोग्राफी पनि पढिन्। र, त्यसमा डिप्लोमा गरेर कान्ति बाल अस्पतालबाट सेवा दिन थालिन्।

कान्ति अस्पतालमा त्यसबेला आवश्यक उपकरण नभएकाले उनी बेलाबेला ईको जाँचका लागि बिरामी बच्चा लिएर सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुग्थिन्। त्यही बेला गंगालाल अस्पतालले बाल चिकित्सक माग गर्‍यो। सन् २००४ मा उनी रजिस्ट्रारका रूपमा गंगालाल अस्पतालबाट सेवा थालिन्। त्यसयता उनी सोही अस्पतालमै छिन्।

मुटु रोग विशेषज्ञ बनाउने ती घटना
त्यो बेला उनी कान्ति बाल अस्पतालमा काम गर्थिन्। १२ वर्षकी बच्ची पीआईसीयूमा भर्ना हुन आएकी थिइन्। उनका हातखुट्टाका औँला नीला भएका थिए। सास फेर्न गाह्रो भएको थियो। एक वर्षको उमेर नहुँदै उनको मुटुमा समस्या रहेको पत्ता लागेको थियो। नेपालमा उपचार नभएका कारण बच्चीका आमाबुवाले तीनपटक भारतमा लगेर उपचार गराए। लामो बाटो, महँगो उपचार विधिका कारण उनीहरूले छोरीको उपचारलाई निरन्तरता दिन सकेनन्। डाक्टरले बच्चीको मुटुको अपरेसन गर्न भनेका थिए, आर्थिक अभावका कारण सम्भव भएन।

कान्तिमा आइपुग्दा उनी अन्तिम अवस्थामा थिइन्। ती बच्चीको उर्मिलाको आँखैअगाडि मृत्यु भयो। त्यही समय त्यस्तै प्रकारको अर्को घटना भयो। ७ महिने शिशुमा जन्मजात मुटु रोग थियो। उनको शरीर पूरै नीलो भएको थियो। कान्ति बाल अस्पतालको आईसीयूमा उनको उपचार भइरहेको थियो। तर, निश्चित डाइग्नोसिस भएको थिएन। मुटुरोग हेर्ने विशेषज्ञ डाक्टर थिएनन्। त्यो बच्चाको पनि उर्मिलाले उपचार गर्दागर्दै ज्यान गयो।

‘यी दुई घटनाले नै मलाई बाल मुटुरोग विशेषज्ञ बनाएको हो,’ उर्मिला सम्झन्छिन्।

डाक्टरका दुःख र खुसी
सुदूरपश्चिमकी एक बालिकालाई सानै हुँदा उर्मिलाले हेरेकी थिइन्। उनको मुटुमा ठूलो प्वाल थियो। सानैमा अपरेसन गर्न सकेको भए उनको अवस्था त्यति जटिल हुँदैनथ्यो। तर, लामो समय उनी उपचारको लागि आइपुगेन। अहिले उनको उमेर ८ वर्षको भयो।

बच्ची लिएर परिवार उपचारका लागि गंगालाल आएका छन्। नियमित औषधि सेवन गराइरहेको बताउँछन्। उनको अवस्था जटिल बनिसकेको छ। तुरुन्तै अपरेसन गरिहाल्ने अवस्था पनि छैन। अपरेसन गर्दा पनि सफल हुने सम्भावना कम देखिन्छ। 

‘अपरेसन गर्दा फर्किने चान्स कम छ,’ उर्मिला भन्छिन्, सम्बन्धित सर्जन डाक्टरसँग लामो छलफल पछि ‘विनाअपरेसन डिभाइस हालेर अघिल्लो साता उनको मुटुको एउटा प्वाल बन्द गरियो। अर्को पनि बन्द गर्न पाए हुन्थ्यो। बाँकी छ।’

उर्मिलाले आफ्नो जीवनमा यस्ता धेरै बालबालिका भेटेकी छिन्। कति उपचारपछि राम्रो भएका छन्, कति उनकै आँखाअघि अस्ताए।

कतिपय बिरामीका अभिभावक बच्चाको सानैमा अपरेसन गर्न मान्दैनन्। यसले पनि जन्मजात मुटुरोग भएका बालबालिका जोखिममा रहेको उर्मिलाको अनुभव छ।

भन्छिन्, ‘बच्चा सिकिस्त भएपछि जसरी पनि बच्चा बचाइदिनु पर्‍यो भनेर आउनु हुन्छ। डाक्टरको हातमा पनि कहाँ सबै हुन्छ र?’

बालबालिकालाई सुरुको अवस्थामा बुवाहरूले उपचारमा ल्याउने गरेका छन्। मुटुरोगका उपचार महँगो छ, त्यसमाथि आर्थिक अवस्था कमजोर भएका धेरै बुवाहरू पैसा कमाउन विदेश जाने र आमाहरूले उपचार गर्न काठमाडौँसम्म ल्याउनै नसकेर थुप्रै मुटुरोगी बालबालिका जीवनको जोखिममा रहेको उर्मिला सुनाउँछिन्।

गत साता मात्रै जुम्लाबाट ४ जना ११ देखि १३ वर्षसम्मका बालबालिकालाई उपचारका लागि गंगालाल ल्याइएको थियो। उनीहरू सबैको शिशुकालमै मुटुरोग पहिचान भएको थियो।

‘उपचार गर्दागर्दै बुवाहरू पैसा कमाउन विदेश गए। आमाहरूले अस्पताल ल्याउन सकेनन्,’ उर्मिला भन्छिन्, ‘उनीहरू अहिले जटिल अवस्थामा अस्पताल आइपुगेका छन्। बुवा विदेश गएपछि पैसा त धेरथोर पठाएका थिए। तर काठमाडौँसम्म ल्याएर उपचार गरिदिने मान्छे नहुँदा छोराछोरीको जीवन धरापमा पर्‍यो। अहिले नेपालमा यस्ता समस्या प्रशस्त छन्।’

गत हप्ता डा. उर्मिला अस्पताल हाताभित्रै हिँडिरहेकी थिइन्। ७ वर्षका बालकले उनको अगाडि आएर भने ‘उर्मिला शाक्य डाक्टर साब नमस्कार!’ नमस्कार फर्काएर उनी ड्युटीमा लागिन्। ती बालक उर्मिलाकै कक्षमा इको गराउन पसे।

उनले बच्चालाई भनिन्, ‘बाबु तिमीले मलाई कसरी चिनेको?’ बच्चाले उल्टै प्रश्न गरे, ‘तपाईंले मेरो ज्यान बचाइदिएको कुरा बिर्सिनुभयो?’

उनी झापाबाट उपचारका लागि आमासँग केही महिनाअघि आएको याद गरायो, सफल उपचारपछि फलोअपमा आएका। उनको जन्मजात एउटा मुटुको भल्भ खुम्चिएको थियो।

उनकी आमाले भनिन्, ‘डाक्टर साब! मेरो बाबुले तपाईंको नाम असाध्यै धेरै लिन्छ।’

उर्मिलाको जीवनमा खुसी लिएर आउने यस्ता थुप्रै बालबालिका पनि छन्। भन्छिन्, ‘हाम्रो जीवनको सबैभन्दा ठूलो कमाइ नै यही त हो।’

दुई दशकदेखि निरन्तर सेवामा डा. शाक्यका अनुसार बालबालिकाको मुटुरोग प्रायः जन्मजात अवस्थामै लिएर आउँछ। जन्मँदै मुटुभित्रको विभिन्न भाग तथा मुटुबाहिरका धमनीहरूको बनावटमा गडबडी भएर यस्तो समस्या आउँछ। सयमध्ये एकजनामा हुने जन्मजात मुटुरोग मुख्यतः गर्भमा मुटुको विभिन्न भागहरू जस्तैः रक्तनली, मुटुको तल र माथिको पर्दा, मुटुका भल्भहरूको अस्वाभाविक विकासक्रमबाट हुने गर्दछ।

फलस्वरूप, मुटुको कोठा बीचका पर्दाहरूमा प्वाल पर्ने, रक्तनली र भल्भहरू खुम्चिने, रक्तनलीहरू उल्टो दिशाबाट विकास हुने, भल्भहरू आंशिक वा पूर्ण रूपमा बन्द हुने हुन्छन्। समयमै उपचार दिन सके अधिकांश बालबालिकालाई जोगाउन सकिन्छ। तर, बेलामा उपचार नपाएकै कारण थुप्रै मुटुरोगी बालबालिकाले आफ्नै आँखाअगाडि ज्यान गुमाएको तितो अनुभव थुप्रै सँगालेकी छन्।

उर्मिलाले कलिला नानीहरूको मुटु छामेरै २ दशक बिताइन्। गंगालाल अस्पतालमा बालमुटुरोग सेवा विस्तार गर्ने त्यसताका उनी एक्लै थिइन्। थुप्रै अप्ठ्यारा र चुनौती थिए। तर, उनले कहिल्यै हार खाइनन्। अनुभवले उनलाई निखार्दै लग्यो, काम गर्दै गएपछि थप आवश्यकता थाहा भयो। उनले अन्य देशका बाल मुटुको उपचारमा नयाँ-नयाँ उपचार प्रविधिलाई नेपालमा विस्तार गर्न बेलायत, इटली गएर थप फेलोसिप गरिन्। अहिले उनी गंगालालको पेडियाट्रिक कार्डियोलोजी विभाग प्रमुख छिन्।

सानो ओपीडी कक्षबाट सुरु भएको ६ वर्षपछि ६ बेडबाट बालमुटुसम्बन्धी अन्तरंग सेवा विस्तार भयो। वि. सं. २०७५ मा छुट्टै बालमुटु वार्ड स्थापना भयो। वि. सं. २०७९ मा बाल मुटुरोग विभागका रूपमा विकास भयो। बिस्तारै जनशक्ति उत्पादन हुँदै गयो। बालमुटु रोगमा चासो नभएकाहरूलाई पनि उनले प्रेरणा दिइन्।

अहिले पनि उनी केही जनशक्तिलाई तालिम दिएर अझ सेवालाई अब्बल बनाउने कोसिस गर्दैछिन्। पहिलेको तुलनामा अहिले मुटुरोग भएका बालबालिकाले धेरै राम्रो सेवा पाइरहेका छन्।

‘पहिला पहिला बालबालिकाको रोग नै पहिचान नहुने भएकाले ठूलो समस्या हुन्थ्यो, जटिल खालको रोग भएमा धेरैको मृत्यु कुर्नुबाहेकको विकल्प थिएन। त्यस बेलाको दृश्य र अहिले धेरै फरक छ,’ डा. शाक्य भन्छिन्, ‘अहिले बालबालिका अस्पताल आएपछि उपचार नपाएर मृत्यु हुनुपर्ने अवस्था छैन।’

सरकारले धेरै वर्ष अगाडिदेखि ( सन् २००६ साल) १५ वर्षमुनिका बालबालिकाको मुटुरोगको सम्पूर्ण उपचार निःशुल्क गर्‍यो। यो सेवाले सबैभन्दा धेरै खुसी उर्मिला भएकी थिइन्।

भन्छिन्, ‘सन् २००६ साल अगाडिसम्म आर्थिक अभावमा मुटुरोगी कलिला बालबालिका तथा अभिभावकले पाएको दु:खको साक्षी हुँ म। कम्तीमा अबका मुटु रोगी बच्चाले त उपचार पाउने भए भनेर खुसी भएकी हुँ।’

गंगालालमा हरेक वर्ष ११ हजार मुटुरोगी बालबालिका ओपीडी पुग्ने गरेका छन्। जसमध्ये झण्डै ९ सय बालबालिकाले अस्पताल भर्ना भएर उपचार गराउँछन्। भर्ना भएकामध्ये ७० प्रतिशत बालबालिकामा जन्मजात मुटुरोग हुने डा. उर्मिलाको अनुभव छ। बाँकीमा बढी बाथ मुटुरोग हुने गरेको उनी बताउँछिन्।

सन् २०१६ बाट गंगालाल हृदय केन्द्रमा चिरफार नगरी जन्मजात मुटुरोगको उपचार लिने संख्या धेरै बढेको छ। अहिले यो प्रविधिबाट मुटुमा परेको प्वाल टाल्ने तथा खुम्चिएका धमनी खुलाउने गरिन्छ।

शल्यक्रियाविना खुट्टाको नसाबाट तार (क्याथेटर) छिराएर समस्याग्रस्त मुटुको प्वाल टाल्ने उपचार पद्धतिलाई ‘ट्रान्स क्याथेटर इन्टरभेन्सन’ भनिन्छ।

मुटुका विभिन्न भागमा परेको प्वाल टाल्ने र साँघुरिएका धमनी तथा रक्तनली खोल्न सकिने यो प्रविधिबाट केन्द्रबाट बर्सेनि सयौँ बालबालिकाले जीवन पाएको उर्मिला सुनाउँछिन्।

डाक्टरी किताब पढेर अस्पताल सेवामा प्रवेश गर्दा उर्मिलालाई लाग्थ्यो- ‘यी कलिला मुटु कसरी सम्हाल्नु!’

अभिभावकले प्रश्न गर्थे, ‘बच्चाको मुटुमा पनि रोग लाग्छ डाक्टर साब?’

उर्मिलालाई यी प्रश्नले आज पनि पछ्याउन छाडेका छैनन्। तर, पहिलेको तुलनामा अभिभावक बच्चाको मुटुलाई लिएर सचेत छन्। उर्मिलाको खुसी यसैमा अडिएको छ।

उनले बाल मुटुरोग विशेषज्ञ भएर काम गरेको दुई दशक नाघिसक्यो। यो अवधिमा उनले हजारौँ कलिला मुटुको धड्कन छामिन्। कति फक्रिए, कति निमोठिए।

गएका भन्दा रहेकाहरूको अनुहारको खुसीले उनमा हिम्मत दिइरहेको छ। भन्छिन्, ‘अबको बाँकी जीवन पनि तिनै कलिला मुटु जोगाउने काममा बिताउँछु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .