मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिमतिर पुगेको छ।
आइतबार बेलुकी ६ बजेसम्म १६५ क्षेत्रमध्ये १५७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ।
मतपरिणाम सार्वजनिक भएका स्थानमध्ये नेपाली कांग्रेस ५३ स्थानमा जित हासिल गर्दै पहिलो दलका रुपमा देखिएको छ। दोस्रो स्थानमा रहेको नेकपा एमालेले ४२ स्थानमा जित निकाली सकेको छ।
नेकपा माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थानमा जितेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ७–७, जनता समाजवादी पार्टी (जसपा) ६ स्थानमा जित निकाल्न सफल भएका छन्।
सत्तारुढ दलहरुसँग चुनावी तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ४ स्थानमा जित निकाल्दा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरु ३ स्थानमा विजयी भएका छन्।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा), जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १–१ स्थानमा जितेका छन् भने ५ निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन्।
निर्वाचन आयोगले ५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको र ३ क्षेत्रमा गणना सुरु हुन बाँकी रहेको जनाएको छ। आयोगका अनुसार सुनसरी–१, ३ र ४, उदयपुर–१ र धनुषा–४ मा मतगणना जारी छ भने बाजुरा, स्याङ्जा–२ र दोलखामा मत गणनाको काम सुरु हुन सकेको छैन।
आयोगले वेवसाइटमा अद्यावधीक गरेको मतपरिणामअनुसार मतगणना जारी रहेको ५ मध्ये कांग्रेस ३ ठाउँमा अग्रता लिएको छ। एमाले र जसपा १–१ स्थानमा अगाडि छन्।
Shares
प्रतिक्रिया