प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको अहिलेको मन्त्रीपरिषद्मा १६ मन्त्री र ३ राज्यमन्त्री छन्। राज्यमन्त्रीसहित २५ मन्त्री हुने व्यवस्था भए पनि मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीले पाँच मन्त्रालय राखेका छन्।
त्यसमध्ये ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभाको चुनावमा प्रधानमन्त्री र एक राज्यसहित १५ बहालवाला मन्त्री उठेका थिए।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले टिकट नै पाएनन्।
यस्तै बोधमाया यादव र हिराचन्द्र केसी पनि चुनावी प्रतिस्पर्धामा थिएनन्।
चुनावमा टिकट पाएर उम्मेदवार बनेकामध्ये प्रधानमन्त्री सहित जम्मा ७ जनाले मात्र प्रतिनिधि सभाको चुनाव जितेर सिंहदरबारको यात्रा सुरक्षित गर्न सफल भएका छन्।
कांग्रेस–माओवादी–एकीकृत समाजवादीसहित सत्ता गठबन्धन दलमा रहेका ती मन्त्रीहरुमध्ये ६ जना पराजित भएका छन्।
सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको मतगणना जारी रहेकाले निर्णय भइसकेको छैन।
प्रधानमन्त्री शेबहादुर देउवा डडेल्धुराबाट चुनाव जितेर फेरि सातौ पटक संसद पुगेका छन्।
उनले २५ हजार ५३४ ल्याउँदा निकतम् प्रतिस्पर्धी सागर ढकालले १३०४२ मत पाए।
अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट विजयी भएर संसद पुगेका छन्।
शर्माले ३९ हजार ५ सय ४९ मत ल्याएर शानदार जीत निकाल्दा उनका प्रतिस्पर्धी एमालेका नन्दराम देवकोटाले १२९६१ मत ल्याए।
शर्माले अहिलेसम्मको संसदीय चुनावमा सबभन्दा बढी फराकिलो मतान्तरको रेकर्ड राखेका छन्। यसअघि २०७४ मा उनको मतान्तर ६७ प्रतिशत थियो । अहिले झण्डै ८४ प्रतिशत पुगेको छ।
यस्तै अछाम १ बाट श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर पनि प्रतिनिधि सभाको चुनाव जित्न सफल भए।
उनले १९ हजार ५ सय ३४ मत ल्याउँदा नेकपा एमालेका झपट बहादुर बोहराले १५०४५ मत ल्याए।
शिक्षामन्त्री देवेन्द्र पौडेलले बाग्लुङ २ बाट एमालेका मञ्जु शर्मालाई पराजित गरेर फेरि संसद पुगेका छन्। मन्त्री पौडेलले २४७९४ मत पाउँदा शर्माले २०१९३ मत प्राप्त गरिन्।
उता उद्योगमन्त्री दिलेन्द्र प्रसाद बडु पनि संसद पुगेका छन्।
२८५१५ मत ल्याएर दार्चुलाबाट चुनाव जितेका उनले एमालेका गणेशसिंह ठगुन्नालाई २६३८१ मतमा रोक्न सफल भए।
शहरी विकासमन्त्री मेटमणि चौधरी दाङ १ बाट निर्वाचित भएर संसद पुगेका छन्। चौधरीले २६ हजार ५७६ मत ल्याएर एमालेका शान्ता चौधरीलाई हराए।
शान्ताले २१ हजार ४९३ मत ल्याएकी छन्।
यस्तै उदयपुर क्षेत्र नम्बर १ बाट परराष्ट्रमन्त्री नारायण खड्का प्रतिस्पर्धी उम्मेदवार एकालेकी मञ्जुकुमारी चौधरी भन्दा २ हजार मतले अगाडि छन्।
रुपन्देही ३ बाट गृहमन्त्री बालकृष्ण खाँण, ललितपुर ३ बाट उर्जान्त्री पम्फा भूसाल, काठमाडौं ८ बाट पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, बाँके १ बाट खेलकुदमन्त्री महेश्वरजंग गहतराज, बारा १ बाट खानेपानीमन्त्री उमाशंकर चौधरीले यसपटक संसद पुग्नबाट रोकिए।
यस्तै प्रधानमन्त्रीमातहत रहेका मन्त्री उमेश श्रेष्ठ चितवन २ बाट पराजित भए। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले हराएका हुन्।
Shares
प्रतिक्रिया