सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उठाएका ५ महिला उम्मेदवारमध्ये एक जनाले मात्र संसदीय यात्रा सुनिश्चित गरेकी छन्। शनिबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार तेह्रथुमबाट सीता गुरुङले संसदीय यात्रा सुनिश्चित गरेकी हुन्।
उनी निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुब्बालाई १ हजार ७९ मतले पराजित गर्दै आगामी संसदमा कांग्रेसका लागि प्रत्यक्षतर्फकी एकमात्र सांसद् बन्न सफल भएकी छन्। अन्तिम मतपरिणाम अनुसार गुरुङ १९ हजार ७०२ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा सुब्बाले १८ हजार ६२३ मत ल्याएका छन्।
०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले (हाल नेकपा एकीकृत समाजवादी) का नेता भवानीप्रसाद खापुङले गुरुङको संसदीय यात्रामा ‘ब्रेक’ लगाएका थिए। उक्त निर्वाचनमा खापुङ २१ हजार ३३५ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदा गुरुङले १९ हजार ३१४ मतमा चित्त बुझाएकी थिइन्।
सत्ता साझेदार तीन दलसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग चुनावी गठबन्धनले गरेको कांग्रेसले ९१ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो। जसमध्ये मात्र ५ जना महिला नेतृहरुलाई कांग्रेसले टिकट दिएको थियो।
टिकट दिएका अन्य चार नेतृहरु भने पराजित भइसकेका छन्।
पराजित हुनेमा चित्रलेखा यादव, सुजाता कोइराला, महालक्ष्मी उपाध्याय ‘डिना’ र पुष्पा भुसाल रहेका छन्।
यादव सिरहा–२ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता राजकिशोर यादवसँग पराजित भएकी हुन्। निर्वाचन आयोगले चित्रलेखालाई १ हजार १५० मतले पराजित गर्दै राजकिशोर निर्वाचित भएका जनाएको छ। आयोगका अनुसार राजकिशोरले २४ हजार १७८ मत प्राप्त गरेका छन् भने चित्रलेखाले २३ हजार २८ मत पाएकी छन्।
कांग्रेसले सहमहामन्त्री उपाध्यायलाई मकवानपुर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि टिकट दिएको थियो। चुनावी परिणाममा उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर सिंहसँग चित्त बुझाउनु परेको छ।
मतगणनाको सुरुवाती अवस्थामा पछि परे पनि सिंह अन्तिम समयमा कांग्रेसकी नेतृ उपाध्यायलाई पाखा लगाएर नतिजा आफ्नो पक्षमा पार्न सफल भएका छन्।
सिंहले विजयी हुने क्रममा २७ हजार ८१६ मत ल्याएका छन् भने उपाध्यायले २५ हजार ४२३ मतमा चित्त बुझाउनु परेकोछ । उनीहरुसँग नेकपा एमालेको समर्थन पाएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४२० मा सिमित हुनु परेको छ।
मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि टिकट लिन सफल सुजाता कोइरालाले पनि पराजय व्यहोर्नु परेको छ। उनी नेकपा एमालेका ऋषिकेश पोखरेलसँग १ हजार २०८ मतले पराजित भएकी छन्। निर्वाचन आयोगका अनुसार पोखरेल ३३ हजार १४८ मतसहित विजयी हुँदा कोइरालाले ३१ हजार ९४० मत प्राप्त गरेकी छन्।
पार्टीले प्रतिनिधिसभा सदस्यका लागि टिकट दिएर चुनावी परिणाम आफू अनुकूल पार्न नसक्ने अर्की नेतृ हुन्– पुष्पा भुसाल।
उनी अर्घाखाँचीबाट १ हजार ७३० मतले पराजित हुनु परेको छ।
नेकपा एमालेका नेता टोपबहादुर रायमाझी भुसालको आगामी संसदीय यात्रामा ‘ब्रेक’ लगाउन सफल भएका छन्। रायमाझीले ४२ हजार ६७५ मतका साथ संसदीय यात्राको नयाँ थालनी गर्दा ४० हजार ९४५ मत पाएकी भुसालको संसदीय यात्रा स्थगित हुन पुगेको छ।
Shares
प्रतिक्रिया