गत मंसिरमा भएको कांग्रेसको १४ औं महाधिवेशनमा कांग्रेस नेतृ सुजाता कोइराला उपभसभापति पदका लागि उम्मेदवार थिइन्। नेता प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिको दाबेदार बनेकी कोइराला पराजित बनिन्।
सभापतिमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीचको प्रतिस्पर्धा बलियो भएपछि दोस्रो चरणको मतदान भयो। दोस्रो चरणको मतदानमा सिंहको प्यानलले नै देउवालाई सघायो। देउवा दोस्रोपटक सभापतिमा निर्वाचित भए।
अन्तिम समयमा प्रकाशनको सहयोगले देउवा निर्वाचित बन्न ठूलो सहयोग पुग्यो। कांग्रेसभित्र सिंह प्यानलकी नेतृ कोइरालालाई प्रधानमन्त्री समेत रहेका सभापति देउवाले मोरङ–२ बाट टिकट दिलाए। उनी पूर्वप्रधानमन्त्री समेत रहेका गिरिजाप्रसाद कोइरालाकी पुत्री समेत हुन्।
यो क्षेत्रबाट ०७४ को निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै कांग्रेस नेता डा. मिनेन्द्र रिजाल निर्वाचित भएका थिए। पार्टीभित्र खरो र स्पष्ट बोल्ने नेता रिजालले यो पटक पनि सोही क्षेत्रबाट चुनाव लड्ने आकांक्षा राखेका थिए।
यसबारे रिजालले पार्टी नेतृत्वलाई पनि जानकारी गराए। टिकटका लागि कसरत पनि गरे। तर, अन्तिम समयमा देउवाले कोइरालालाई टिकट दिएपछि रिजालको संसदमा दोहोरिने यात्रामा ‘ब्रेक’ लाग्यो।
खासमा १४ औं महाधिवेशनको संघारमा पार्टीमा देखिएको चरम गुटबन्दीबाट सभापति देउवा र रिजालबीचको सम्बन्ध चिसिएको थियो। टिकट नपाएपछि मिनेन्द्रले सामाजिक सञ्जाल फेसबुकमा दुईवटा पत्र राखेरै आफूले टिकट नपाउनुको कारण समेत खोलेका थिए।
रिजालले दुईवटा पत्र सार्वजनिक गर्दै फेसबुकमा लेखेका थिए,‘हाम्रो दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मलाई प्रतिनिधिसभाको निर्वाचनमा किन उम्मेदवार बनाउनुभएन भनेर खोजी गर्दा उहाँ र मेराबीच २०७७ जेष्ठ र आश्विनका यी दुई पत्र फेला परे, पोष्ट गरेको छु।’
कोइराला एमालेका उम्मेदवार ऋषिकेश पोखरेलसँग १ हजार २०८ मतले पराजित भएकी हुन्। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार पोखरेल ३३ हजार १४८ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा कोइरालाले ३१ हजार ९४० मतमा चित्त बुझाउनु परेको छ।
मोरङ–२ मा कांग्रेस नेतृ सुजाता पराजित, एमालेका ऋषिकेशले निकाले जित
२०७४ को निर्वाचनमा मोरङ–२ मा कांग्रेस नेता डा. मिनेन्द्र रिजाल तत्कालीन वाम गठबन्धनका तर्फबाट उठेका पोखरेललाई पराजित गर्न सफल भएका थिए।
तर, कांग्रेसको यो जितलाइ कोइरालाले जोगाउन सकिनन्।
०७४ मा रिजाल ३५ हजार ८१९ मतसहित विजयी हुँदा पाखरेलले ३४ हजार १४ मतमा चित्त बुझाउनु परेको थियो।
Shares
प्रतिक्रिया