नेकपा एमालेका नेता डा. भीम रावलको गृहजिल्ला अछाममा एमाले ‘क्लिन स्विप’ भएको छ। दुईवटा प्रतिनिधि सभा क्षेत्र र ४ वटा प्रदेशसभा क्षेत्र रहेको अछाममा एमालेले एउटा पनि सिट जित्न नसकेको हो।
अछामका ६ वटै क्षेत्र सत्ता गठबन्धनका उम्मेदवारले आफ्नो पोल्टामा पारेका छन्। ०४८ सालदेखि चुनाव लडिरहेका एमाले नेता भीम रावलले यसपटक अछाम १ मा टिकट नै पाएनन्।
उनको टिकट खोसेर माओवादी केन्द्रबाट एमालेमा समाहित झपट बोहरालाई क्षेत्र नं १ बाट प्रतिनिधि सभाको उम्मेदवार बनाइएको थियो। उनी नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवरसँग हारे।
क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका पुष्पबहादुर शाह निर्वाचित भए। उनले निवर्तमान सांसद एमालेका यज्ञबहादुर बोगटीलाई हराए।
क्षेत्र नम्बर १ प्रदेशसभा १ मा नेपाली कांग्रेसका मेघराज खड्का एमालेका देवबहादुर कुँवरलाई हराउँदै विजयी भए। प्रदेशसभा २ बाट माओवादीका झपटबहादुर साउद प्रदेश सांसद चुनिए। त्यहाँ उनले एमालेका कृष्णप्रसाद जैसीलाई हराएका थिए।
क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा एमालेका भीमबहादुर विष्टलाई हराउँदै माओवादी केन्द्रका अक्कलबहादुर रवल निर्वाचित भए।
यस्तै क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा कांग्रेसका मानबहादुर रावलले बाजी मारे। उनले एमालेका शिवप्रसाद उपाध्यायलाई हराएर प्रदेश सभाको यात्रा तय गरे।
Shares
प्रतिक्रिया