हृदयेश त्रिपाठी र देवेन्द्रराज कँडेल पश्चिम नवलपरासीका आआफ्ना निर्वाचन क्षेत्रमा निरन्तरजसो चुनाव लडिरहेका छन्। त्रिपाठीले अलि बढी सफलता प्राप्त गरेका छन्। कँडेलले ह्रयाट्रिकसम्म पूरा गरेका छन्।
त्रिपाठी २०४८ सालबाट निरन्तर संसदीय चुनाव लडिरहेका नेता हुन्। हालसम्म उनले २०७० बाहेक सबै चुनाव जितेका छन्। सुरुका ३ वटा चुनाव नेपाल सदभावना पार्टीबाट विजयी भएका थिए। २०६४ मा तमलोपाबाट सांसद बनेका थिए। २०७० मा सोही पार्टीबाट उम्मेदवार बनेपछि विजयी हुन सकेनन्। ५ वर्षअघि एमालेको चुनाव चिह्न लिएर नवलपरासी पश्चिम १ बाट सांसद बनेका त्रिपाठीलाई यसपटक एमालेको समर्थन त थियो तर आफ्नै चुनाव चिह्नबाट चुनावी प्रतिस्पर्धामा होमिए।
नेपाली कांग्रेसका देवेन्द्रराज कँडेल २०५१ सालमा चुनाव लड्न सुरु गरेका हुन्। ०५१ सँगै २०५६ र २०७४ को चुनाव उनले जितेका थिए।
तर यो पटकको चुनावको मतगणनामा त्रिपाठी र कँडेल दुवै जना निकै पछि छन्। नवलपरासी १ मा त्रिपाठी तेस्रो स्थानमा छन्। कांग्रेसका विनोद चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले आलोपालो अग्रता लिइरहेका छन्। यो खबर तयार पार्दासम्म चौधरी ११ हजार ६४० मत ल्याएर अगाडि छन्। ठकुरीको १० हजार ४४० मत आएको छ। त्रिपाठीले ८ हजार ९५३ मत ल्याएका छन्।
यता २ नम्बर क्षेत्रमा राप्रपाका धु्रबबहादुर प्रधान कँडेल भन्दा झण्डै ७ हजार मतान्तरले अघि छन्। प्रधानले १२ हजार ८३१ मत ल्याउँदा कँडेलले ५ हजार ९२७ मत पाएका छन्। एमालेका दीपेन्द्र अधिकारीको ५ हजार ३८७ मत आएको छ।
Shares
प्रतिक्रिया