नेपाली कांग्रेसले चुनावी तालमेलपछि आफ्नो भागमा परेका तीन महानगरपालिकामा पनि भागबण्डा गरेको छ।
स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनमा भएको भागबण्डापछि आफ्नो भागमा परेका महानगरको प्रमुखका लागि कांग्रेसले भागबण्डा गरेको हो।
चुनावी तालमेलमा कांग्रेसको भागमा काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिका परेका थिए।
ती महानगरहरूको प्रमुखका लागि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य डा. शेखर कोइराला र अर्का नेता प्रकाशमान सिंहबीच भाग लगाइएको छ।
मंसिरमा सम्पन्न पार्टीको १४औँ महाधिवेशनमा कोइराला सभापति देउवाको निकटतम प्रतिद्वन्द्वी हुन्। नेता सिंहले सभापतिका लागि प्रतिस्पर्धा गरे पनि दोस्रो चरणमा देउवालाई सघाएका थिए।
आन्तरिक भागबण्डा गर्दै सभापति देउवाले ललितपुरमा आफूनिकट चिरिबाबु महर्जनलाई महानगर प्रमुखमा दोहोर्याएका छन्। उनले विराटनगर नेता डा. कोइराला र काठमाडौँ नेता सिंहलाई दिएका छन्।
सभापति देउवाले विराटनगरमा कोइरालानिकट नागेश कोइराला र काठमाडौँमा नेता सिंहकी पत्नी सिर्जनालाई महानगर प्रमुखका लागि टिकट दिएका छन्।
नागेश मोरङ कांग्रेसका उपसभापति हुन्। उनी यसअघि जिल्ला सचिव थिए। सिर्जना नेपाल महिला संघ काठमाडौंकी प्रमुख सल्लाहकार हुन्।
Shares
प्रतिक्रिया