प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विजया दशमी, दीपावली तथा छठको अवसरमा आइतबार चियापान कार्यक्रम गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको चियापान समारोहमा कांग्रेसका केन्द्रीय पदाधिकारी, नेताहरु तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो।
मञ्चमा कांग्रेसका पदाधिकारी र नेताहरुभन्दा सत्तारुढ दलका नेताहरुको बाक्लो उपस्थिति देखिन्थ्यो।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वप्रधानमन्त्रीहरु एवं सचिवालय सदस्य झलनाथ खनाल, माधव कुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एंव रक्षामन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेताहरु सुवास नेम्वाङ्ग, अमृत बोहरा, देव गुरुङ लगाएतको उपस्थिति थियो। स्मरणीय के छ भने प्रचण्ड नेतृत्वको पहिलो गणतान्त्रिक सरकार ढाल्न भूमिका खेलेका पूर्व सेनापति रुगमांगद कटवाल पनि सोही मञ्चमा थिए।
प्रचण्डले सरकारबाट राजीनामा दिएपछि दुवैले एकअर्काको कडा आलोचना गर्दै आएका थिए। उनीहरु एउटै मञ्चमा बसे पनि बोलचाल भने नगरेको कार्यक्रममा सहभागी एक नेताले बताए।
त्यस्तै पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई, राजपाका महन्थ ठाकुर लगायतका नेताहरु माअवधिकारकर्मी, संचारकर्मी लगायतको उपस्थिति थियो । चियापान समारोहमा विभिन्न पेशागत संघसंस्थाका पदाधिकारी, बुद्धिजीवीहरु, नागरिक समाजका अगुवा, गैह् आवासीय नेपालीहरु, विशिष्ट महानुभावहरु तथा नेपाली कांग्रेसका विभिन्न भातृ संगठनका पदाधिकारी र शुभेच्छुकहरुको उल्लेख्य उपस्थिति थियो।
चियापानमा खाने परिकारमा जेरी, समोसा, निम्की र चिया राखिएको थियो।
कार्यक्रममा नेकपा अध्यष प्रचण्डले राजनीतिमा असम्भव भन्ने केही नहुने भन्दै असम्भव कुरालाई पनि दलहरुको सहकार्यले र एकताले सम्भव बनाएको बताए।
‘स्वर्गीय गिरिजाप्रसाद कोइराला र मबीच भएको शान्ति सम्झौताले असम्भवलाई सम्भव तुल्याएको छ’ प्रचण्डले भने, ‘हेर्दै जाउँ राजनीतिले कसरी कोल्टे फेर्छ।’ उनले त्यतिबेला लिएका संकल्प र प्रतिवद्धताप्रति दृढ रहने र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने दायित्व रहेको बताए।
२०३३ सालमा स्वर्गीय बीपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले २०३४ साल देखि हरेक वर्ष कोजाग्रहत पूर्णिमाका दिन चियापान कार्यक्रम गर्दै आएको छ।
प्रतिक्रिया