ad ad

राजनीति


चीनलाई ब्रिफिङः सी भ्रमणको तयारी पूरा

चीनलाई ब्रिफिङः सी भ्रमणको तयारी पूरा

चन्द्रलाल गिरी
भदौ २३, २०७६ सोमबार १४:४०,

चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी समक्ष राष्ट्रपति सी चिनफिङलाई स्वागत गर्न नेपाल सबै हिसावले तयार रहेको ब्रिफिङ भएको छ।

नेपाल भ्रमणमा रहेका विदेशमन्त्री वाङसँगको भेटमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमणको तयारी भइरहेको बताएका हुन्।

२३ वर्षपछि अर्को महिना, दसैं लगत्तै चीनका राष्ट्रपतिले नेपाल भ्रमण गर्ने करिब निश्चित भएको छ। उच्च भ्रमणको तयारीको क्रममा नेपाल आएका विदेशमन्त्री वाङलाई नेपाली पक्षले आश्वस्त बनाएको हो।

सोमबार दिउँसो भएको परराष्ट्रमन्त्री स्तरीय दुई पक्षीय वार्तामा भने राष्ट्रपति सीको नेपाल भ्रमणबारे सामान्य छलफल मात्रै भएको थियो।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीसँग भने विदेशमन्त्री वाङले राष्ट्रपतिको भ्रमणबारे खुलेर छलफल गरेका छन्।

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटवार्ता गरेपछि वाङ अन्तिममा राष्ट्रपति भण्डारीलाई भेटन शितल निवास पुगेका थिए।

शितल निवास सम्वद्ध स्रोतहरूले राष्ट्रपति भण्डारीले वाङलाई चीनका राष्ट्रपतिको भ्रमण आयोजना गर्न पाउँदा नेपालले गौरव महशुस गर्ने बताएकी थिइन्।

‘महामहिम राष्ट्रपति सीलाई नेपालमा स्वागत गर्न हामी सबै रुपले तयार छौं, २३ वर्षको अन्तरालमा हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणले हाम्रो द्विपक्षीय सम्बन्धमा विशेष महत्व राख्नेछ’, वाङसँगको भेटमा राष्ट्रपतिको भनाइ थियो, ‘मित्रराष्ट्र चीनका महान तथा दुरदर्शी नेता महामहिम सीलाई नेपालमा स्वागत गर्न पाउनु हाम्रो लागि ठूलो सम्मानको विषय हो।’

राष्ट्रपतिले आफ्नो मन्तव्यको क्रममा भ्रमणको तयारी पूरा भएको आश्वस्त गराउन प्रयास गरिन्।

‘यस भ्रमणलाई ऐतिहासिक तथा भव्य रुपमा सफल बनाउने गरी हामीले तयारी गरिरहेका छौं’, वाङ समक्ष राष्ट्रपति भण्डारीको भनाइ थियो, ‘यहाँको भ्रमणले उक्त भ्रमणलाई अझ सफल बनाउन हामीलाई हौसला मिलेको छ र भ्रमण पूर्ण रुपमा सफल हुनेमा हामी विश्वस्त छौ।’

प्रधानमन्त्री ओलीले पनि बालुवाटारमा वाङसँगको भेटमा राष्ट्रपति सीको भ्रमण सफल बनाउन तयारीमा जुटेको बताए।

‘राष्ट्रपति सीको भ्रमणले नेपाल–चीन सम्बन्धले थप नयाँ उचाई प्राप्त गर्ने छ’, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उनको टिमका एक अधिकारीले भने, ‘हामी यो भ्रमणलाई भब्य रुपमा सफल बनाउन तयारीमा जुटेका छौं।’

परराष्ट्रमन्त्री ज्ञवालीले भेटवार्तामा ‘अर्को महिना हुने सीको भ्रमणलाई नेपालले ठूलो अवसरको रुपमा लिएको र यसलाई फलदायी बनाउन तयार रहेको’ बताएका थिए।

राष्ट्रपति सीको भ्रमण तयारीबारे प्रमुख पार्टीहरूको तर्फबाट थप आश्वस्त हुन मंगलबार वाङले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्दैछन्।

विदेशमन्त्री वाङले बेइजिङमा गर्ने बिफ्रिङका आधारमा राष्ट्रपति सीको नेपाल भ्रमण तालिका र एजेण्डा तय हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .