हिन्द महासागरको तटमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिखर वार्ता गरी चीनका राष्ट्रपति सी चिनफिङ २७ असोजमा नेपाल आउने तयारी भएको छ।
भारतका प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच दोस्रो अनौपचारिक शिखर वार्ता दक्षिण राज्य तमिल नाडुको ममालापुरममा तय गरिएको छ। भारतीय दैनिक द हिन्दुले मोदी र सी असोज २५ र २६ मा ममालपुरममा रहने जनाएको छ।
बेइजिङ र काठमाडौंस्थित विभिन्न स्रोतहरूले चिनियाँ राष्ट्रपति सीले भारतसँगै नेपाल भ्रमण गर्ने तयारी अघि बढिरहेको जनाएका छन्। २३ वर्षपछि हुन लागेको चीनका राष्ट्रपतिको नेपाल भ्रमणको तयारीको क्रममा बेइजिङको एउटा सुरक्षा टोली केही दिनअघि काठमाडौंबाट फर्केको छ।
उच्च भ्रमणको क्रममा दुई पक्षीय एजेण्डा र सुरक्षा तयारीका लागि चीनका परराष्ट्रमन्त्री र जनसुरक्षामन्त्री नेपाल आउँदै छन् भने गृहमन्त्री रामबहादुर थापा पनि चीन जाने तयारीमा छन्।
तीन महिनाअघि चीन भ्रमणको क्रममा बेइजिङमा राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणा स्वीकार गर्दै राष्ट्रपति सीले नेपाल आउन उत्सुक रहेको जनाएका थिए।
राष्ट्रपति सी नेपाल हुँदै भारत जान्छन् वा भारत भ्रमण सकेर नेपाल आउँछन् भन्ने अझै एकिन भैसकेको छैन। तर विश्वसनीय स्रोतहरूले भारतमा मोदीसँग भेटेर फर्कने क्रममा सी काठमाडौं ओर्लने गरी तयारी भइरहेको जनाएका छन्। त्यसो हुँदा असोज २५ र २६ मा ममालपुरममा मोदीसँग भेटेपछि असोज २७ (१४ अक्टोबर) मा सी काठमाडौं ओर्लने छन्।
मोदी–सीबीच दोस्रो शिखर बैठक तय गरिएको ममालापुरम चेन्नइ भन्दा ६० किलोमिटर पर हिन्द महासगारको पूर्वी तटमा अवस्थित रहेको छ। यसअघि मोदी र सीबीच उत्तर प्रदेशको बनारसमा दोस्रो अनौपचारिक शिखर सम्मेलन हुने तयारी थियो। धार्मिक नगर बनारस मोदीको निर्वाचन क्षेत्र हो।
सीको भ्रमणको क्रममा बनारसमा निर्वासित तिब्बतीहरूले प्रदर्शन गर्ने तयारी गरेका थिए भने केही साताअघि पनि भारतका विभिन्न शहरमा चिनियाँ सामानको आयातविरुद्ध प्रदर्शन भएको थियो। दिल्लीस्थित स्रोतहरूले मुख्यतः सुरक्षाको कारण शिखर सम्मेलन चीनसँग सिमा जोडिएको उत्तर प्रदेशको बनारसबाट हिन्द महासागरको तट ममालापुरम सारिएको जनाएका छन्।
अनौपचारिक शिखर बैठकको सुरक्षा र तयारीसहितका विषयमा केन्द्र र तमिल नाडु राज्य सरकारका उच्च अधिकारीहरुबीच पटक पटक छलफल भएको जनाइएको छ। ममालापुरमलाई महावलीपुरमको नामले समेत चिनिन्छ।
शिखर वार्तामा दुई नेताहरुबीच द्वीपक्षीय सम्बन्ध, क्षेत्रीय र विश्वव्यापी महत्वका विषयमा छलफल हुने तयारी छ।
यसअघि दुई नेताहरुबीच अघिल्लो वर्षको बैशाख २५ र २६ मा चीनको उहानमा पहिलो शिखर वार्ता भएको थियो। जसमा चीन–भारत सिमा क्षेत्र दोक्लम विवाद साम्य गरी सहकार्य गर्न दुई शीर्ष नेता सहमत भएका थिए।
प्रतिक्रिया