ad ad

राजनीति


‘पर्ख र हेर’ रणनीतिमा माधव नेपाल

‘पर्ख र हेर’ रणनीतिमा माधव नेपाल

मणि दाहाल
भदौ ८, २०७६ आइतबार १२:३७,

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीसँग विवाद चर्किंदै जाँदा माधवकुमार नेपाल पक्ष भने नयाँ कदम चाल्ने भन्दा पनि पर्ख र हेरको रणनीतिमा देखिएको छ।

अध्यक्ष तथा प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुरमा रहेको र उनी फर्केपछि पार्टी सञ्चालनको क्रममा लिने नीतिको आधारमा नेपाल पक्ष अघि बढ्ने देखिन्छ।

‘१० दिन भने पनि अध्यक्ष उपचारको क्रममा कम्तीमा एक महिना सिंगापुर रहने संभावना रहेको छ । अध्यक्ष ओली सिंगापुरबाट फर्केर आएपछि लिने निर्णयको आधारमा अघि बढ्ने काम हुन्छ,’ नेपाल निकट एक नेताले भने, ‘अहिलेको अवस्था सबैको साथ सहमतिमै अघि बढ्ने भन्ने हो।’

बिहीबारको सचिवालय बैठकमा अध्यक्ष ओली र नेता नेपालबीच चर्चाचर्की परेको थियो। व्यक्तिगत लान्छनामा उत्रिएको दुई नेताहरुबीचमा दुरी र तिक्तता बढेको देखिएको छ। अध्यक्ष ओलीसँग विवादको विषयहरु बाहिर छताछुल्ल भएपछि शुरु भएको आलोचनालाई मथ्थर पार्न समेत गरेका छन्।

नेपाल निकट रहेका गृह नगर रौतहटका नेता तथा बंगलादेशका लागि प्रस्तावित वंशीधर मिश्रले पनि दुवै नेताबीच तिक्ततालई घटाउन दुवै पक्षबीच संवादको सन्देश लिएर ओलीका सचिवालयका सदस्यहरुलाई भेटेका थिए। त्यसैगरी पार्टीभित्र उत्पन्न परिस्थितिको बारेमा अध्यक्ष दाहाल र नेता नेपालबीच छलफल भएको थियो। ‘दुवै नेताहरुबीच सहमतिमै एकीकरणको बाँकी काम सम्पन्न गर्ने निर्णय भएको छ’, नेता नेपाल निकट नेताले भने।

आइतबारको सचिवालय बैठकमा एक्लै परेको नेता नेपालको पार्टीभित्रको वरियता समेत एक स्थान तल झारिएको छ। दुई अध्यक्षहरुबीच दूरी बढ्दा पार्टीको निर्णयहरुमा नेता नेपाल निर्णायक बन्न पुगेका थिए। पार्टीभित्रको पछिल्लो शक्ति सन्तुलनमा पछि परे पनि नेता नेपाल पक्ष तत्काल चर्को प्रतिक्रिया व्यक्त गर्ने पक्षमा रहेको छैन।

‘अहिलेका अवस्थामा भनेका अग्लो पर्खाल लगाएको पोखरीमा कुस्ती खेलेको जस्तै हो। पर्खाल नाघेर कोही अर्कोतर्फ जानसक्दैन। जसले जसलाई पछारे पनि पोखरीमा पर्ने हो,’ एक केन्द्रीय सदस्य भन्छन्, ‘तर को को मिलेर कसलाई पछार्ने भन्ने मात्रै हो। हिजो अध्यक्षको चर्को विरोध गर्ने बामदेव गौतम आज ओलीसँग मिल्न जानु भएको छ। कुन दिन फेरि विरोधमा उत्रिनु हुन्छ थाहा छैन। त्यसैले चर्को प्रतिक्रिया व्यक्त गरेर अहिलेको अवस्थामा फाइदा छैन।’

नेता नेपाल पक्षको अबको चासो अध्यक्ष ओली निर्णय प्रक्रियामा एक्लौटी हाबी हुने विषयलाई उठाउने रहेको देखिन्छ। बिहीबारको सचिवालय बैठक अध्यक्ष ओलीले दुवै अध्यक्षबीच सहमति भएर निर्णयहरु लागू हुने बताएका थिए। नेता नेपाल अध्यक्ष ओलीसँग निर्णयमा विशेषाधिकार भिटो हुन नहुने पक्षमा छन्।

‘पार्टी निर्णय सर्वसम्मतिको आधारमा हुँदा एउटा कुरा हो अन्यथा सहमति भन्दै विधि र प्रक्रिया भने मिच्नु हुँदैन। सहमति गर्न सकिदैन भने अल्पमत र बहुमतको निर्णय गर्दा हुन्छ तर अध्यक्ष ओलीलाई मन परेको विषयमा भिटो प्रयोग गरेर निर्णय भने गर्नु हुँदैन’, नेपाल निकट मानिने नेता केन्द्रीय सदस्य जगन्नाथ खतिवडा भन्छन्, ‘कसैले पनि भिटो प्रयोग गर्ने अवस्थामा हुँदैन। सहमति वा प्रक्रियाबाट निर्णय गरिन्छ भने त्यसलाई सबैले स्वीकारेर अघि बढ्नु पर्छ।’

बिहीबारको बैठकले पार्टीको कार्यकारी भूमिका अध्यक्ष दाहाललाई पु¥याएको छ। दाहाल पूर्व एमालेभित्र देखिएको विवादलाई समाधान गर्न सक्रिय भएका छन्। शुक्रबार बिहान नेपालसँग लामो छलफल गरेका दाहालले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .