नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगको भूमिकाप्रति प्रश्न उठाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कटाक्ष गरेका छन्।
त्यस क्रममा थापाले श्रेष्ठलाई बरु निर्णय/फैसला पनि आफैंले लेखेर अदालत, निर्वाचन आयोगलगायत संवैधानिक आयोगलाई उपलब्ध गराउन व्यंग्यात्मक सुझाव दिएका छन्।
माओवादी केन्द्रका प्रवक्ता श्रेष्ठले मंगलबार ट्विट गरेका छन्, ‘निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ। संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य छ। जसपाबारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ। नेकपाको बारेमा पनि यस्तै गरिएको थियो। अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि पनि हो।’
यसमा प्रेस सल्लाहका थापाले कमेन्ट गरेका छन्, ‘अदालत, निर्वाचन आयोगलगायत संवैधानिक आयोगहरूलाई के के गराउनुपर्ने हो, समयमै लिखित रूपमा फैसला लेखेर उपलब्ध गराउने हो कि? अनि निर्णयपछि यसरी भर्त्सना गर्ने कष्ट गर्नुपर्ने थिएन। पार्टी त फरक परिहाल्यो, एउटा सुझावसम्म दिनु उपयुक्त सम्झेँ।’
चार महिना अघिसम्म श्रेष्ठ र थापा एकै नेकपा पार्टीका नेता थिए। पार्टी नाम विवादमा सर्वाेच्च अदालतले गत फागुन २३ गते नेकपा भंग गर्दै पुरानै दुई दल (एमाले र माओवादी केन्द्र) ब्युँताउने फैसला गरेपछि उनीहरू आआफ्ना पार्टीमा फर्किएका हुन्।
प्रतिक्रिया