संसद विघटनको मुद्दामा राय दिनका लागि एमिकस क्युरीको टुंगो लागेको छ। संवैधानिक इजलासको सहयोगीको रुपमा (एमिकसक्युरी) दुवै बारबाट दुई दुई जना वरिष्ठ अधिवक्ताहरु माग गरिएको थियो।
नेपाल बार एशोसियशन र सर्वोच्च बार एशोसियशनले मंगलबार एमिकसका रुपमा पठाउने वरिष्ठ अधिवक्ताहरुको टुंगो लगाएका हुन्।
नेपाल बार एशोसियशनले उषा मल्ल पाठक र राघबलाल वैद्यलाई एमिकसमा पठाउने भएको छ।
वैध पूर्वन्यायाधीश र पूर्वमहान्यायाधीवक्तासमेत हुन्। पुनरावेदन अदालतका न्यायाधीश रहेका वैधले न्यायाधीशबाट राजीनामा दिएका थिए। पछि उनी प्रचण्ड प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता थिए।
पाठक नेपाल बार एशोसियशनको पूर्व उपाध्यक्ष हुन्। उनी ३० वर्षदेखि वकालतमा सक्रिय छिन्।
सर्वोच्च बारले बरिष्ठ अधिवक्ता कोमलप्रसाद घिमिरे र प्रकाशबहादुर केसीलाई पठाउने भएको छ।
उनीहरुले दुवै पक्षको बहस सुनिसकेपछि संवैधानिक इजलासलाई राय दिनेछन्। रायका लागि सर्वोच्चले एमिकसलाई २ घण्टा समय तोकेको छ। सबैलाई आधा घण्टाभित्रमा राय दिन इजलासले यसअघिकै आदेशमा भनेको छ।
गत पुसमा भएको संसद विघटनको मुद्दामा एमिकसमा ५ जना अधिवक्ताहरु पठाइएको थियो। त्यतिबेला नेपाल बारबाट वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनाली थिए भने सर्वोच्च अदालत बारको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय पूर्णमान शाक्य र गीता पाठक संग्रौला थिए।
उनीहरु मध्ये मैनालीले मात्रै संसद विघटन गर्ने निर्णयको बचाउ गरेका थिए। बाँकी चार अधिवक्ताहरु विघटनको विपक्षमा थिए। दुवैपक्षको बहस सुनिसकेपछि एमिकसले आफ्नो राय दिन्छन्।
संसद विघटनको मुद्दामा असार ९ गतेबाट नियमित सुनुवाइ सुरु हुँदैछ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा रहेको संवैधानिक इजलासमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराई रहेका छन्।
सरकारको सिफारिसमा गत जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले दोश्रो पटक संसद विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा ३० वटा रिट परेका छन्। तर असार ९ गतेबाट शेरबहादुर देउवासहित १४६ सांसदको तर्फबाट दायर रिटमा मात्रै सुनुवाइ हुने भएको हो।
रिट निवेदकले १२ घण्टा सुरुवाति बहस, विपक्षीको १५ घण्टा जवाफी बहस र निवदेकतर्फको तीनघण्टा जवाफी बहसपछि एमिकसले राय दिनेछन्। त्यससँगै विघटनको मुद्दामा फैसला आउनेछ।
प्रतिक्रिया