प्रधानसेनापति पूर्णचन्द्र थापा चीनको जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा यही असार १ गते त्यसतर्फ प्रस्थान गर्दैछन्।
प्रधानसेनापतिको नियुक्ति पश्चात् मित्रराष्ट्रहरुको भ्रमणको सिलसिलामा पहिलो पटक हुन लागेको चीन भ्रमणको भ्रमणदलमा श्रीमती दिपा थापा तथा कार्यरथी उपरथी अनन्त कार्कीसहित आठ जना सहभागी हुने जंगी अड्डाले जनाएको छ।
उनकाे टाेली असार १ गते एयर चाइनाको फ्लाईटद्वारा काठमाडौंबाट चीनको छेङ्दु, दुजियाङ्गिन हुँदै बेइजिङतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। भ्रमणको दौरान प्रधानसेनापति थापाले चीनका विभिन्न सैनिक संरचना एवं ऐतिहासिक स्थलहरुको भ्रमणलगायत उच्चस्तरीय पदाधिकारीहरुसँग भेटघाट गर्नेछन्।
यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।
प्रधानसेनापति थापासहितको उच्चस्तरीय भ्रमणदल भ्रमण सम्पन्न गरी असार ७ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।
प्रतिक्रिया