प्रधानमन्त्री केपी शर्मा ओलीको नयाँ मन्त्रिमण्डलमा धनुषाबाट प्रत्यक्ष निर्वाचित चार प्रतिनिधिसभा सदस्य मध्ये तीनजना मन्त्री बनेका छन्।
जसपाका वरिष्ठ नेता धनुषा क्षेत्र नं. ३ बाट निर्वाचित राजेन्द्र महतो उपप्रधानसहित सहरी विकास मन्त्री बनेका छन् भने धनुषा क्षेत्र नं ४ बाट निर्वाचित एमाले नेता रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र मन्त्री बेनका हुन्।
यस्तै क्षेत्र नं. २ बाट निर्वाचित उमा शंकर अरगरिया वन तथा वातावरणमन्त्री बनेका छन्। उनी तत्कालिन संघीय समाजवादी फोरमबाट माओवादी नेता रामचन्द्र झालाई पराजित गरी विजयी भएका थिए। उपेन्द्र यादव खेमाका अरगरिया पछिल्लो समय कित्ता फेरेर ठाकुर पक्षमा लागेका छन्। मन्त्री पड्काउन नै उपेन्द्रको साथ छाडेर महन्थसँग गएको व्यापक चर्चा छ।
त्यसअघि उनी संजय साह नेतृत्वको मधेश क्रान्ति फोरममा थिए। उनी सजय साहका मुख्य सहयोगी थिए। संजय साह तत्कालिन सद्भावना पार्टीमा प्रवेश गरेपछि उनी पनि प्रवेश गरेका थिए। त्यतिबेला वमकाण्ड र अरुण सिंहानिया हत्याकाण्डमा संजय साह जेल गएपछि एक्लिएका अरगरिया २०७४ को चुनावमा फोरममा प्रवेश गरेका थिए। उनी सबभन्दा बढी दल परिवर्तन गर्ने नेताको रुपमा गनिन्छन्।
राजेन्द्र महतो तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई पराजित गरी निर्वाचित भएका थिए। उनी त्यतिबेला ओलीकै आन्तरिक सहयोगमा नेता निधिलाई पराजित गरी निर्वाचित भएको चर्चा अहिले पनि चल्ने गरेको छ।
महासेठ भने तत्कालिन खानेपानी तथा सरसफाईमन्त्री कांग्रेसका उम्मेदबार महेन्द्र यादवलाई पराजित गरी विजयी भएका थिए। महासेठ ओलीका विश्वसनीय पात्र मानिन्छ।
जसपा सरकारमा सहभागी भएपछि प्रधानन्त्री ओलीले शुक्रबार साँझ मन्त्री मण्डल हेरेफेर गरेका हुन्। सो क्रममा जसपाबाट एक उपप्रधानमन्त्रीसहित ८ मन्त्री र दुई राज्यमन्त्री बनेका छन्। सोही क्रममा धनुषाबाट निर्वाचित जसपा कोटामा महतो र अरगरिया मन्त्री बनेका हुन्।
धनुषाकै १ बाहेक तीनवटै क्षेत्रका सांसद पावरफुल मन्त्री भएपछि मतदाता भने हर्षित भएका छन्। यद्यपी उनीहरु मन्त्रीमा लामो समयसम्म नटिक्ने अडकलले खासै केही गर्लान् भन्ने अपेक्षा नरहेको कतिपय स्थानीय बताउँछन् ।
प्रतिक्रिया