ad ad

राजनीति


कस्मिरबारे नेपालको धारणाः वार्ताबाट शान्तिपूर्ण समाधान

कस्मिरबारे नेपालको धारणाः वार्ताबाट शान्तिपूर्ण समाधान

नेपालखबर
भदौ २, २०७६ सोमबार ९:१३,

 जम्मु कस्मिरबारे नेपाल सरकारको धारणा बाहिर आएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नियमित पत्रकार सम्मेलनमा बोल्दै यो मुद्दाको समाधान दुई पक्षीय वार्ताबाट गरिनु पर्ने बताएका छन्।

‘कस्मिर मुद्दालाई नेपालले नजिकबाट हेरिरहेको छ। त्यहाँ रहेका करिब ८० हजार नेपाली नागरिकको सुरक्षामा नेपालले चासो व्यक्त गरेको छ’, मन्त्री ज्ञवालीले भने। नेपाल क्षेत्रीय शान्तिका पक्षमा रहेको भन्दै उनले कस्मिर मुद्दाको समाधान वार्ताबाटै खोजिनु पर्नेमा जोड दिए।

‘नेपाल क्षेत्रीय शान्तिका पक्षमा छ, सबै समस्याको शान्तिपूर्ण समाधान वार्ता र संवादका माध्यमबाट खोजिनुपर्छ’, उनले भने।

कस्मिरका नेपाली सुरक्षित रहेको जानकारी पाएको उनले सुनाए। यो विषयमा दिल्लीस्थित नेपाली दूतावासले भारत सरकारसँग मिलेर काम गरिरहेको उनको भनाइ थियो।

कस्मिरलाई भारतले आन्तरिक मामिला भएको बताउँदै आएको छ। परराष्ट्रमन्त्री ज्ञवालीले कुटनीतिक भषामा भारत–पाकिस्तानको दुई पक्षीय मामिलाको रुपमा अर्थ लगाए।

‘कस्मिरबारे दुई पक्षीय वार्ताबाट यो क्षेत्रमा शान्ति र स्थायित्व हुन्छ भन्नेमा हामी विश्वस्त छौं’, उनले भने, ‘वार्ताबाट शान्ति कायम गर्ने प्रयासलाई हामी प्रोत्साहन गर्दछौं।’

हलुका टिप्पणी नगर्न अनुरोध

नेपाल र उसका निकटका छिमेकी तथा बाह्य सम्बन्धबारेमा हलुका टीकाटिप्पणी नगर्न उनले सबै राजनीतिक दल र तिनका नेतासँग आग्रह गरे। केही दिनअघि प्रतिनिधिसभा, अन्तररार्ष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपाली कांग्रेसका नेता प्रदीप गिरिले नेपाललाई  सिक्किम बनाउन भारत अवसरको खोजीमा रहेको बताएका थिए।

‘नेपालले कहिल्यै कल्पना नगरेको विषयमा गरिएको टिप्पणी सरकारलाई अस्वीकार्य छ’, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने, ‘समितिमा बोलिएको भनिएको विषयको सत्यताप्रति मलाई सन्देह पनि छ।’ सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उनले त्यो स्तरको संसद् सदस्यबाट त्यति हलुका टिप्पणी भयो होला भन्ने आफूलाई नलागेको बताए।

उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अध्यक्षका नाताले यसलाई गति दिन संयुक्त राष्ट्र संघको ७४औँ महासभाका क्रममा सदस्य देशका विदेशमन्त्रीसँग आगामी महिना न्यूयोर्कमा अनौपचारिक छलफल हुने जानकारी मन्त्री ज्ञवालीले दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .