पाँच दसकअघि कम्युनिस्ट आन्दोलन एकीकृत गर्न अभियान सुरु भएको थियो। जसअनुसार २०३१ सालमा अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेसन केन्द्र गठन गरिएको थियो।
कोअर्डिनेसन केन्द्रमा झापा विद्रोहका नेताहरु सीपी मैनाली र मुकुन्द न्यौपाने, बैंकको जागिर छाडेर राजनीतिमा आएका माधवकुमार नेपाल, इलाममा रहेका झलनाथ खनाल, धनुषामा सक्रिय ईश्वर पोखरेल अनि प्रदीप नेपाल सहभागी थिए। जतिबेला केपी शर्मा ओली र मोहनचन्द्र अधिकारीहरु भने जेलमा थिए।
केन्द्रमा पछि मुक्ति मोर्चा समूहबाट जीवराज आश्रितको नेतृत्वमा वामदेव गौतम, मदन भण्डारीसहितको समूह मिसिन आएको थियो।
समय-समयमा केही नेता लाखापाखा लागे पनि कोअर्डिनेसन केन्द्रका प्रमुख नेताहरुको समूह नेकपा एमालेमै थियो। तर सोमबार एमालेको स्थायी कमिटीले माधवकुमार नेपाल र झलनाथ खनाल समूहलाई कारबाही गरेसँगै ५० वर्ष पुरानो विरासत छिन्नभिन्न भएको छ। कोअर्डिनेसन केन्द्रका सबै प्रमुख नेता अनेक समूह र पार्टीमा तितरबितर भएका छन्।
झापा विद्रोह र कोअर्डिनेसन केन्द्रका प्रमुख पात्रमध्ये सीपी मैनाली २०५४ र अशोक राई २०६८ सालमै एमालेबाट अलग्गिएका थिए।
भारतको नक्सलवादी आन्दोलनबाट प्रभावित कोअर्डिनेसन केन्द्रबाटै २०३५ सालमा नेकपा माले बन्यो। भारतमा पनि अखिल भारत क्रान्तिकारी कोअर्डिनेसन केन्द्र भाकपा माले बनेको थियो।
सुरुवाती केही समयबाहेक कोअर्डिनेसन केन्द्र र मालेको नेतृत्व सीपी मैनालीले गरे। २०३९ सालमा मैनाली कारबाहीमा परेपछि झलनाथ खनाल पार्टीको नेतृत्वमा आए। पञ्चायतकालभर दोस्रो नेता माधव नेपाल रहे।
पञ्चायती व्यवस्था अन्त्य हुनु केही महिनाअघि भएको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव बने। यसबीचमा पञ्चायतकालभर विद्यार्थीमा टंक कार्की, किसानतर्फ अमृत बोहोरा र मजदुर संगठन विस्तारमा सूर्य शर्माको प्रमुख भूमिका रह्यो।
१४ वर्षको जेल जीवनपछि केपी ओली २०४५ सालमा पार्टीको केन्द्रीय कमिटीमा आएका थिए। त्यसपछि पार्टीमा उनको प्रभाव निरन्तर रह्यो।
बहुदल आएपछि सो समूहले सशस्त्र विद्रोहको नीति छाड्यो र बहुदलीय प्रणाली अपनायो। २०४७ सालमा नेकपा मार्क्सवादीसँग एकीकरण गरेपछि नेकपा एमाले बन्यो।
२०५० जेठमा महासचिव भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको निधनपछि नेपाल महासचिव बने। २०५४ सालमा महाकाली सन्धिका विषयमा एमाले विभाजन भयाे। वामदेव गौतम र सीपी मैनालीले नेकपा माले बनाउँदा पनि कोअर्डिनेसन केन्द्रका धेरै नेता एमालेमै थिए। त्यसपछि पहिलो संविधान सभा विघटन भएलगत्तै असन्तुष्ट जनजाति नेताले एमाले छाडे। त्यही क्रममा कोअर्डिनेसन केन्द्रबाट जोडिएका अशोक राई बाहिरिए।
२०६४ सालमा पहिलो संविधान सभा निर्वाचनसम्म एमाले तेस्रो स्थानमा पुग्दा नेपाल नै पार्टी प्रमुख रहे। त्यसपछि झलनाथ खनाल महासचिव बने र आठौँ महाधिवेशनमा एमाले बहुपदीय प्रणालीमा गयो। पहिलो अध्यक्ष खनाल बने। पाँच वर्षपछि भएको महाधिवेशनमा नेपाललाई हराउँदै ओली एमालेको अध्यक्ष बने। त्यसअघि उनले संसदीय दलको चुनावमा वामदेव गौतमको साथ लिएर तत्कालीन अध्यक्ष झलनाथ खनाललाई हराएका थिए।
२०६६ सालमा नेता नेपाल प्रधानमन्त्री बन्दा उनलाई ओलीले साथ दिएका थिए। तर नवौँ महाधिवेशनपछि ओली र नेपालबीच प्रतिस्पर्धा बढ्दै गयो। जसको असर एमाले र नेकपा माओवादी केन्द्र एकीकरणपछि बनेको नेकपाभित्र पनि देखियो।
१३ महिनाअघि सतहमा देखिएको नेकपाभित्रको अन्तर-संघर्षले झन्डै दुईतिहाइ बहुमत ल्याउन सफल प्रधानमन्त्री केपी ओलीले संसद् भंग गरेर चुनाव घोषणा गराए। गत फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलापछि नेकपा एमाले पुन:स्थापित भए पनि ओली–नेपाल टकराव भने कम भएन, बरु बढ्दै गयो।
अदालतद्वारा पुनःस्थापित एमालेको प्रारम्भबिन्दु केलाई मान्ने भन्ने विषयमा विवाद सुरु भयो। गत फागुन २८ गते ओलीले आफूनिकट केन्द्रीय सदस्यलाई मात्रै बोलाएर माओवादीबाट आएका नेताहरुलाई केन्द्रीय कमिटीमा थप गरेपछि विवााद उत्कर्षमा पुगेको हाे।
त्यसयता अध्यक्ष ओलीले नेता नेपालसहितका नेताहरुलाई कारबाही गरेका छन् भने नेपाल पक्षले पनि विपक्षी दलसँग मिलेर प्रधानमन्त्री ओली र उनीनिकट प्रदेशका मुख्यमन्त्रीहरुलाई सत्ताच्युत गर्न खोजेका छन्।
कारबाही र विद्रोह जारी रहँदै गर्दा एमाले सग्लो रहँदैन भन्ने अनुमान धेरैले गरिसकेका थिए। यसबीच नेता नेपालले एमालेकै नाममा देशभर छुट्टै संरचना बनाएका छन् भने आफूनिकट युवा नेतालाई नयाँ दल दर्ता गर्नसमेत लगाएका छन्।
देशकाे प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित एमाले औपचारिक विभाजनको पर्खाइमा छँदैछ। त्यसभन्दा पनि कम्युनिस्ट आन्दोलन एकीकृत गर्न ५० वर्षअघि सुरु अभियानमा पूर्णविराम लाग्दैछ।
प्रतिक्रिया