ad ad

राजनीति


स्थानीय तहसम्मै कार्यगत एकता गर्ने पाँच दलबीच सहमति

स्थानीय तहसम्मै कार्यगत एकता गर्ने पाँच दलबीच सहमति

नेपालखबर
जेठ ९, २०७८ आइतबार ११:२९,

प्रतिनिधिसभा विघटन भएपछि एक जुट बनेको नेपाली कांग्रेससहितका चार दल र नेकपा एमालेको माधव नेपाल समूहले प्रदेश र स्थानीय तहसम्म कार्यगत एकता गरी अघि बढ्ने निर्णय गरेका छन्।

आइतबार बसेको ती दलका शीर्ष नेताहरुको बैठकले सो निर्णय गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) राष्ट्रिय जनमोर्चा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल आन्दोलन सुरु गर्ने भनि हिजो शनिबार निर्णय गरेका थिए।

राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेर अघि बढेका पाँचै दल केन्द्र, प्रदेश र स्थानीय तहसम्म मोर्चा बनाएर अघि बढ्न सहमत भएको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘प्रतिगमनविरुद्ध तलैसम्म तत्कालका लागि मोर्चा बनाएर जाने सहमति जुटेको छ,’ श्रेष्ठले भने, ‘लोकतन्त्र र संविधानको रक्षाका लागि तल्लो तहसम्म जानुपर्ने निष्कर्षमा हामी पुगेका हौं।’

आज कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र ठाकुर, एमालेका माधवकुमार नेपालबीच भएको छलफलमा सो सहमति जुटेको हो। सहमतिलाई तल्लो तह (स्थानीयतह)सम्म पुर्याइनेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसँगको मिलेमतोमा प्रतिनिधि सभा विघटन गरेको भन्दै सो कदमविरुद्ध विपक्षी पाँच दल थप एकजुट बनेको हो।

उनीहरुले सरकारका विरुद्ध राजनीतिक र न्यायिक लडाइ लड्ने शनिबार नै गरेको सहमति अनुसार सोमबार सर्वाेच्च अदालतमा १ सय ४९ जनाको हस्ताक्षरसहित मुद्दा दायर गर्दैछन्।

शुक्रबार (जेठ ७) मा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर पाँचै दलले ७६ (५) अनुसार प्रधानमन्त्री बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन पेस गरेका थिए। त्यही बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो पक्षमा १ सय ५३ सांसदको समर्थन रहेको भन्दै दाबी प्रस्तुत गरे।

देउवा र ओली दुबैले आफूहरुसँग बहुमत रहेको दाबी पेस गरेपछि त्यसको आधार पुष्टि नभएको भन्दै दुबै निवेदन राष्ट्रपतिले खारेज गरिदिएकी थिइन्।

त्यसलगत्तै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्न गरेको सिफारिस राष्ट्रपतिले स्वीकृत गर्दै कात्तिक २६ र मंसिर ३ गते चुनावको मिति घोषणा गरेपछि विपक्षी पाँच दल आन्दोलित भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .