ad ad

राजनीति


विकास बजेट कटौती गरेर भए पनि महामारी नियन्त्रणमा लगाऔँ : महासंघ अध्यक्ष पोखरेल

विकास बजेट कटौती गरेर भए पनि महामारी नियन्त्रणमा लगाऔँ : महासंघ अध्यक्ष पोखरेल

नेपालखबर
जेठ २, २०७८ आइतबार ११:४७,

नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले कोरोना महामारीको नियन्त्रण गर्न सरकारले सम्पूर्ण स्रोत साधनको परिचालन गर्नुपर्ने बताएका छन्।

अध्यक्ष पोखरेलले मुलुक कोरोना महामारीका कारण संकटग्रस्त अवस्थामा रहेकाले यसको नियन्त्रण गर्न सिंगो राज्य संयन्त्र एक भएर लाग्नुपर्ने बताए। उनले कोरोनाविरुद्ध राज्यको सबै क्षेत्र एकजुट भएर लड्नुपर्ने आवश्यकता औँल्याए।

उनले भने, ‘राज्यले सम्पूर्ण ध्यान कोरोना विरुद्धको अभियानमा जोड्न जरुरी छ। जनस्वास्थ्य नै सबैभन्दा ठूलो कुरा हो। जनस्वास्थ्यका लागि सरकारले आफ्ना सबै स्रोत, साधन र जनशक्ति सबै प्रयोग गरोस् भन्ने हाम्रो बिनम्रताका साथ आग्रह छ।’

कोरोना रोकथाम तथा नियन्त्रणमा आवश्यक परे स्वास्थ्य संकटकाल घोषणा गर्न पनि उनको आग्रह छ। धेरै विकास बजेटहरु खर्च नभएर फ्रिज हुने विगतको परम्परा रहेको भन्दै उनले यस वर्ष विकास पूर्वाधारका लागि रकमान्तर हुने बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रित हुनुपर्ने पनि बताए।

उनले भने, ‘धेरै विकास बजेट खर्च नभएर फ्रिज हुने गरेको छ। आवश्यक पर्छ भने स्वास्थ्य संकटकाल घोषणा गरियोस् अथवा स्वास्थ्य क्षेत्रले भनेजस्तै रेड अलर्ट घोषणा गरियोस्। जे गरेर सहज हुन्छ। अन्य विकास पूर्वाधारका रकम पनि जनस्वास्थ्यका लागि केन्द्रित गरियोस्।’

अध्यक्ष पोखरेलले महामारीको बखत पत्रकारिता क्षेत्रले जोखिम मोलेर सूचना प्रवाहको काम गरिरहेको भन्दै आगामी दिनमा पनि निरन्तर लाग्न अपिल गरेका छन्। प्रेस काउन्सिल र पत्रकार महासंघले जारी गरेको आचारसंहिता र कोभिड निर्देशिकालाई अनुशरण गर्न उनको आग्रह छ।

महामारीको बेलामा कृतिम कालोबजारी र अत्यावश्यक सेवामा चर्को मूल्य लिने गरिएकाले त्यस्तो गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन सरकार समक्ष उनले माग गरे।

उनले भने, ‘कमिशन खेल, कृतिम कालोबजारी, एम्बुलेन्स, हेलिकप्टरले चर्को मूल्य लिएको बदनियत छ। यसलाई एक्सपोज गरेर राज्यले कारबाहीको दायरामा ल्याओस् भन्ने पत्रकार महासंघको माग छ।’

अध्यक्ष पोखरेलले कोरोना विरुद्धको खोपको सहज पहुँच पुर्‍याउन पनि सरकार सँग माग गरेका छन्। राज्यका सम्बन्धित निकायहरुले महामारीको यस बेलामा नागरिकहरुलाई पर्याप्त सूचना नदिएको भन्दै सरोकारवाला मन्त्रालयहरुले पर्याप्त सूचना दिनुपर्ने बताए। उनले कोरोनाविरुद्ध तत्कालै अल्पकालिन र दिर्घकालीन योजना ल्याउन पनि माग गरेका छन्।

(न्युज एजेन्सी नेपालसँग गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .