सरकारले चीनसँग खोप खरिदका लागि पहल सुरु भएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले चीनसँग खोप खरिदका लागि परराष्ट्र मन्त्रालयले प्रक्रिया अगाडि बढाएको बताएका हुन्।
अन्य मुलुकबाट भने तत्काल खोप आउने सम्भावना नरहेको मंगलबार मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उनले जानकारी दिए।
‘परराष्ट्र मन्त्रालयमार्फत चीनसँग खोप खरिदको प्रक्रिया अगाडि बढेको छ। माहोल निर्माण भएपछि प्राप्त गर्ने छौँ,’ मन्त्री त्रिपाठीले भने।
सिरम कम्पनीलाई भुक्तानी गरिसकेको भएपनि भारतबाट तत्काल आउने सम्भावना नरहेको स्वास्थ्यमन्त्रीले बताए।
सिरमसँग २० लाख डोज खोप ४ डलरको दरमा खरिद गर्ने सम्झौता भएको थियो। सम्झौता अनुसार ८० प्रतिशत रकम पनि सरकारले भुक्तानी गरिसकेको छ।
तर, सिरमको नेपाली एजेन्ट हुकम डिस्ट्रिब्युसन एन्ड लजिस्टिक्स प्रालिले कमिसन मागेपछि खोप आयातमा ढिलाइ भएको थियो। त्यही समयमा भारतमा महामारीले भयानक रुप लिएपछि भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएको छ।
सिरमले निर्यात अनुमति पाउनासाथ नेपालले खोप पाउने दाबी मन्त्री त्रिपाठीले गरे।
नेपालले अन्य मुलुकसँग पनि खोपका लागि यी बाहेकका देशसँग पनि सरकारले छलफल गरेको थियो।
अमेरिकी र रुसी राजदूतसँगको छलफल सकरात्मक भएको बताउँदै मन्त्री त्रिपाठीले बेलायतका राजदूतले पनि खोप उपलब्ध गराउने जानकारी दिएको तर बेलायतमा पनि महामारी बढेकाले तत्काल आउने सम्भावना नरहेको बताए।
कोभ्याक्ससँगको सम्झौता अनुसार ३ लाख ४८ हजार डोज खोप प्राप्त गरे पनि बाँकी आउन सकेन। कोभ्याक्सले पनि सिरमसँग खोप प्राप्त गर्ने भएकाले कोभ्याक्सले तत्काल दिन सक्ने अवस्था छैन।
खोप खरिदमा अनियमितता नभएको दाबी मन्त्री त्रिपाठीको छ। बाहिर भएका आलोचना र सोमबार संसदमा उठेका विषयको मन्त्री त्रिपाठीले चर्को विरोध पनि गरे।
‘बोल्न त बोल्नुस्, बुझेर बोल्नुस्। पूरै डेटा छैन भने हामी सहयोग गर्न तयार छौँ तर यस्तो अवस्थामा अनर्गल, झुठा अफवाह आत्मरतिको लागि कृपया नबोल्नुस्,’ मन्त्री त्रिपाठीले भने, ‘हामीले कसैलाई पनि एक पैसा कमिसन दिएका छैनौँ।’
अहिलेको अवस्थामा ४ डलरको रेटमा कसैले उपलब्ध गराउँछ भने नेपाल सरकार एक करोड भन्दा बढी डोज खोप खरिद गर्न तयार रहेको उनले बताए।
नेपालमा भारतले १० लाख डोज खोप अनुदानमा दिएपछि पहिलो चरणको खोप अभियान सुरु भएको थियो। त्यो चरणमा लगाउनेले दोश्रो चरण पनि खोप लगाएका छन्।
पछि चीन सरकारले ८ लाख डोज खोप दिएपछि थप व्यक्तिलाई लगाइएको छ। उनीहरुले पहिलो चरणमा लगाएका छन्। जेठ २ गतेबाट राजधानीमा दोश्रो चरणको खोप अभियान सुरु गर्ने निर्णय भएको छ।
Shares
प्रतिक्रिया