ad ad

राजनीति


चित्रबहादुर केसीको आरोप : प्रधानमन्त्रीले मन्त्रीको व्यापार गरे

चित्रबहादुर केसीको आरोप : प्रधानमन्त्रीले मन्त्रीको व्यापार गरे

नेपालखबर
बैशाख ११, २०७८ शनिबार ८:५५,

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीको व्यापार गरिरहेको आरोप लगाएका छन्।

'पार्टीले हटाएकालाई पनि प्रधानमन्त्रीले मन्त्री बनाउनु भएको छ। अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेलाई पनि मन्त्री बनाउनु भएकोछ', नेपालखबरसँग कुरा गर्दै केसी भने, 'अहिलेसम्म अरु शासकले यस्तो गरेका थिएनन्। उहाले त मन्त्रीको व्यापार नै गर्नु भयो।'

प्रधानमन्त्री ओलीले आफूहरुको मतको अपमान गरेको आरोप उनले लगाए। 'न उहाँले संसद चलाउनु भयो, न पार्टी,' केसीले भने, 'न हामीले भोट हालेको पार्टी रह्यो। उहाँले जनताको मतको अपमान गर्नुभयो। यस्तो प्रतिगमनलाई समर्थन गर्न सकिदैन। त्यसैले समर्थन फिर्ता लियौं।'

शनिबार मात्रै राष्ट्रिय जनमोर्चाले गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

सांसद नभएका प्रदेशमा गरिएको नैतिक समर्थन पनि फिर्ता गरिएको केसीले बताए।

जनआन्दोलनका उपलब्धिहरूको रक्षा गर्नुपर्ने राष्ट्रिय आवश्यकता रहेको केसीले बताए।

गणतन्त्र नै के हुने हो ? भन्ने स्थिति आउन नदिन सबै सचेत हुनपर्ने केसीको भनाई छ।

प्रधानमन्त्रीले आफूलाई पौने घण्टा टेलिफोन गरेर समर्थन फिर्ता नलिन आग्रह गरेको केसीले खुलासा गरे।

'उहाँसँग लामै छलफल भयो। समर्थन फिर्ता नलिनुस् दाई मिलेर अगाडि बढौं भन्नु भयो,' केसीले भने, 'तपाईले सबै विगार्न थाल्नु भयो। त्यसैले समर्थन गरिरहन सक्दैनौं भन्ने जवाफ दिए।' मन्त्रीदेखि मुख्यमन्त्रीसम्मले समर्थन फिर्ताको विषयमा आपूसँग छलफल गर्न खोजेको केसीले बताए।

ओली नेतृत्वको सरकारले लगातार अलोकतान्त्रिक, असंवैधानिक, अधिनायकवादी र प्रतिगामी कदम चालेको आरोप राष्ट्रिय जनमोर्चाले लगाएको छ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव आउन लागेको थाहा पाएपछि संसद अधिवेशन नै अन्त्य गर्नु लोकतान्त्रीक नभएको उनले बताए।

प्रधानमन्त्रीको त्यही सिको प्रदेश सरकारले समेत गरेको उनको भनाई छ।

यो पनि :

गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने राष्ट्रिय जनमोर्चाको निर्णय

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .