नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यबाट हटाएपछि पद गुमाएका रामबहादुर थापा बादल पुनः गृहमन्त्रीको सपथ लिएर सिंहदरबार फर्केका छन्।
सांसद नरहेपनि ६ महिनासम्म मन्त्री बन्न पाउने कानुनी व्यवस्थाअनुसार उनको गृह मन्त्रालय प्रवेश सम्भव भएको हो।
यसअघिकै जिम्मेवारीमा फर्किएका थापालाई गृह मन्त्रालयमा कर्मचारीले भव्य स्वागत गरे। उनले प्रहरीको महाविद्यालयको नाम परिवर्तन गर्ने प्रस्तावमा हस्ताक्षर गर्दै आइतबार साँझ पुनः जिम्मेवारी सुरु गरे। यसअघिको नेपाल प्रहरी युक्ति तथा महाविद्यालयको नाम अब नेपाल प्रहरी भीड व्यवस्थापन तथा प्रहरी युक्ति तालिम महाविद्यालय जंग नवलपरासी रहने छ।
थापाको उक्त प्रस्ताव निर्णयका लागि मन्त्रिपरिषदमा लगिने छ।
त्यसअघि आइतबार साँझ नै शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापालाई पद तथा गोपनीयताको सपथ गराएकी थिइन्। नेकपा विभाजन भएसँगै एमालेमा लागेका थापाले दल त्यागेको पत्र माओवादी केन्द्रले चैत २७ गते संघीय संसद् सचिवालयमा पठाएको थियो।
उक्त पत्रपछि थापाको संसद पद रिक्त रहेको आइतबार संसद सचिवालयले जानकारी गराएको थियो।
राष्ट्रिय सभामा पुनः प्रवेश कति सम्भव?
माओवादी केन्द्रले बर्खास्त गरेपछि थापाको रिक्त स्थानमा ३५ दिनभित्रमा निर्वाचन हुनेछ। ६ महिनाभन्दा बढी मन्त्री बन्नका लागि उनी फेरि उम्मेदवार बन्न सक्नेछन्। तर उनी प्रवेश गरेको नेकपा एमालेको अवस्था यतिबेला खराब छ।
बहुमत भएपनि मत आउने निश्चित छैन। यसको पछिल्लो उदाहरण हो कर्णाली प्रदेश। जहाँ माओवादीका मुख्यमन्त्रीको पद एमालेकै सांसदले जोगाइ दिए। यो अवस्था अब अन्य ठाउँमा पनि देखिने आकलन गरिएको छ।
थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए। अब हुने उपनिर्वाचनमा बागमती प्रदेशका प्रदेश सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्छन्। यो क्षेत्रमा एमालेको सबै मत पाए बादल फेरि सांसद बन्ने सम्भावना रहन्छ।
बागमतीमा प्रदेश सांसद ११० छन्। यी मध्ये नेकपा एमालेका ५७, माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझा पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टीका २, नेपाल मजदुर किसान पार्टीका २ र जनता समाजवादी पार्टीका एक सांसद छन्।
स्थानीय तहमा पनि एमालेसँग प्रस्ट बहुमत छ। स्थानीय तहका २३८ मध्ये एमालेसँग मात्रै १३३ मत छ।
तर, एमालेको माधव नेपाल पक्षले कर्णालीमा जस्तै पार्टी निर्णय अस्वीकार गरे थापा जिल्लिने छन्। यो आकलन उनले पनि गरिसकेका छन्। यो बीचमा उनले माओवादीकै मत तान्ने र आफूलाई सुरक्षित गर्न कसरत गर्ने उनीनिकट स्रोत बताउँछ।
माओवादी, कांग्रेस र अन्य दलले तालमेल नगरे पुनः राष्ट्रिय सभा प्रवेश सहज रहने थापाको अपेक्षा छ।
प्रतिक्रिया