ad ad

राजनीति


१२ दिनमै नेपालबाट साउदी उडे १७ सय भारतीय, दूतावासद्वारा नरोक्न आग्रह

१२ दिनमै नेपालबाट साउदी उडे १७ सय भारतीय, दूतावासद्वारा नरोक्न आग्रह

उजिर कार्की
चैत ३१, २०७७ मंगलबार १४:४९,

भारतमाथि श्रम गन्तव्य मुलुकले उडानमा प्रतिबन्ध लगाएपछि नेपालको बाटो हुँदै भारतीय नागरिक विदेशिने क्रम बढेको छ। पछिल्ला १२ दिनमा मात्रै १७ सय जना भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी अरब उडेका छन्।

भारतमा कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि साउदीले भारतसँगको हवाई मार्गमा प्रतिबन्ध लगाएको छ। जसका कारण रोजगारीका लागि त्यहाँ जाने भारतीय नागरिकले नेपालको विमानस्थल प्रयोग गर्न थालेका छन्।

भारतमा केही दिनयता दैनिक एक डेढ लाख बढीमा कोरोना संक्रमण देखिन थालेको छ। जोखिम बढेपछि गन्तव्य देशले प्रतिबन्ध लगाउँदा त्यहाँका नागरिकले गन्तव्य मुलुक पुग्न पाएका छैनन्। त्यसैले विदेश जाने भारतीयहरु नेपाल हुँदै आउने गरेका छन्।

काठमाडौंस्थित भारतीय दूतावासको ‘नो अब्जेक्सन लेटर’का आधारमा उनीहरुलाई नेपाली विमानस्थलबाट जान दिने गरेको अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले बताए।

यसरी रोजगारीमा जानका लागि भारतीय दूतावासमा नो अब्जेक्सन लेटर लिनेको समेत भीड लागेको छ। मंगलबार मात्रै प्रहरीले भीड नियन्त्रणका लागि बल प्रयोग गर्नु परेको दरबारमार्ग वृत्तका प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलले बताए।

नेपालबाट विभिन्न देशमा उड्ने भारतीय नागरिकको संख्या दिनदिनै बढ्दै गएपछि अध्यागमन विभागले भारतीय दूतावासको ध्यानाकर्षण गराएको थियो। तर, दूतावासले यसबारे आफूलाई जानकारी रहेको बताउँदै नो अब्जेक्सन लेटर लिएर आउनेलाई नरोक्न भनेको महानिर्देशक केसीले नेपालखबरलाई बताए।

गत चैत १९ (अप्रिल १) देखि ३० गते सोमबारसम्म मात्रै ३ हजार ५४ जना भारतीयले नेपाली विमानस्थल प्रयोग गरेका छन्। तीमध्ये १ हजार ११ जना भारत नै गएपनि बाँकी तेश्रो मुलुक पुगेका छन्। सोमबारसम्ममा १ हजार ६ सय ९४ जना साउदी अरब उडेको अध्यागमन विभागले जनाएको छ।

Indian workers 2

यस्तै ५५ जना यूएई र बाँकी २९४ जना अन्य मुलुक उडेका छन्।

गत जनवरीमा ३ हजार ५ सय १४ जना भारतीयले नेपालको विमानस्थल प्रयोग गरेका थिए। तीमध्ये २ हजार ९ सय ४३ जना भारत उड्दा एक जना मात्रै साउदी अरब गएका थिए। यूएई ४९ जना र अन्य देशमा ५ सय २१ जना गएको अध्यागमन विभागको तथ्यांक छ।

फेब्रुअरीमा ४ हजार ७७ जनाले नेपालको विमानस्थल प्रयोग गरेका थिए। तीमध्ये ३ हजार ५ सय ६७ जना भारत गएका थिए। त्यो महिना नेपालबाट साउदी जाने भारतीय नागरिकको संख्या २७ पुगेको थियो। यूएई ६५ जना र अन्य देश ४ सय १८ जना गएका थिए।

मार्चमा नेपालबाट साउदी उड्नेको संख्या थप बढ्यो। ९ सय ९० जना नेपालबाट त्यो महिना साउदी उडेका थिए। मार्चमा ५ हजार २ सय १ जना भारतीय नेपाली विमानस्थलबाट बाहिरिएकोमा ३ हजार ५ सय ७७ जना भारत नै फर्किएका थिए।

यूएई ८८ जना र अन्य विभिन्न देशमा ५ सय ४६ जना गएको विभागको तथ्यांक छ।

जनवरीदेखि अप्रिल १२ सम्म १५ हजार ८ सय ४६ जना भारतीय नागरिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न देशमा गएको पाइएको छ।

११ हजार ९८ जना भारत र बाँकी तेस्रो मुलुक गएका हुन्।

यो अवधिमा २ हजार ७ सय १२ जना साउदी अरब र २ सय ५७ जना यूएई गएका छन्। १ हजार ७ सय ७९ जना अरु देशमा गएको अध्यागमन विभागले जनाएको छ।

भारत कोरोना संक्रमणको उच्च जोखिममा रहेका बेला यसरी नेपाल भित्रिनेको संख्या बढ्दै गएपछि नेपालमा समेत जोखिम थपिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .