ad ad

राजनीति


एमाले एक गरेपछि ‘क्षमापूजा’ गर्छौँ, माफी सप्ताह चलाउँछौँ : घनश्याम भुसाल

एमाले एक गरेपछि ‘क्षमापूजा’ गर्छौँ, माफी सप्ताह चलाउँछौँ : घनश्याम भुसाल

घनश्याम भुसाल
चैत ४, २०७७ बुधबार १४:३,

नेकपा एमालेभित्र अहिले देखिएको अन्तरसंघर्षमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पराजित हुनुहुनेछ। यो कुरा म त्यत्ति नै आत्मविश्वासका भन्छु जसरी मैले पुस १३ गते नै तीन महिनाभित्र संसद पुनर्स्थापना हुन्छ भनेर भनेको थिएँ।

त्यस मुद्दामा अध्यक्ष ओली पराजित हुनुहुन्छ भनेको थिएँ। त्यसैगरी अहिले पनि ओली हार्नुहुनेछ। अध्यक्ष ओलीले जित्ने एउटा पनि बलियाे तर्क छैन। उहाँका जे जे तर्क छन्, त्यसबाट अध्यक्ष ओली हार्ने नै पक्का देखिन्छ।

हाम्रो पार्टी जीवनलाई २०७५ जेठ २ गतेको अवस्थामा लैजाउँ भन्ने हाम्रो भनाइ हो। यो हुन्न कसैले भन्दैन। ओलीले पनि हुन्न भन्नुभएको छैन। अस्ति पार्टी केन्द्रीय कार्यालयमा भएको छलफलमा पनि ओलीले त्यो कुरा हुन्न भन्न सक्नुभएको छैन। अहिले त्यो जनमत झनै बढ्दै गएको छ। अर्थात् ओली हार्दै हुनुहुन्छ।

त्यसको अर्थ हामीले पार्टी जीवनलाई नेकपा माओवादी केन्द्रसँग एकीकरण गरेको एक दिनअघि अर्थात् २०७२ जेठ २ गतेतर्फ लैजाँदैछौं।

अध्यक्ष ओलीले भेलामा सहभागी हुनेहरुलाई कारबाहीको कुरा गर्नु भएको छ। त्यसले के हुन्छ र? साँच्ची भन्दा ओलीले राजनीति सक्नुभयो। एमालेको सान, त्यसको वैभव, प्रतिष्ठा थियो। त्यो प्रतिष्ठाको जुन बैभव थियो, त्यो ओलीले एउटा पनि नराखी सिध्याउँदै हुनुहुन्छ। एकपछि अर्को गर्दै सक्नुभयो।

हामीले माओवादी केन्द्रसँग गठबन्धन गर्‍यौं। त्यत्रो बहुमत ल्यायौं, एकता गर्‍याैं। एकता पनि भत्कायौं। बहुमत पनि गुमायौं। अहिले बाँकी पार्टी एमाले छ, त्यही पनि ओलीले फुटाउन खोज्नुभएको छ। यो चिन्ताको विषय हो।

अस्ट्रेलियाको लेबर पार्टीका प्रधानमन्त्री केभिन रुडले त्यहाँका आदिवासीमाथि विगतमा भएको अत्याचारप्रति माफी माग्नका लागि ‘सरी डे’ आयोजना गरेका थिए। विगतमा आदिवासीमाथि श्वेतहरुले गरेको अत्याचारका लागि माफी माग्नका लागि उनले त्यसो गरेका थिए। त्यसैगरी हामीले देशभर पार्टीलाई एक बनाउँछौं र माफी सप्ताह चलाउँछौं।

यो भनेको धार्मिक अनुष्ठानहरुमा हुने गरेको क्षमापूजा जस्तै हो। त्यो भनेको जनता, मुलुकको राजनीतिप्रति यत्रो सत्यानास गर्‍यौं, संसद भंग गर्‍यौं, यो वामपन्थलाई जसरी भत्कायौं, त्यसका लागि माफी माग्नेछौं।

वास्तवमा पार्टीलाई एकीकरण गरेपछि पहिलो काम यहि गर्नुपर्नेछ। अहिले भएको क्षतिको पुरै पूर्ताल हुने अवस्था भने छैन। त्यसले पूर्ताल हुन्छ कि भन्ने आशा छ। हामीले खराब गर्‍यौं, बर्बाद गर्‍यौं भनेर माफी माग्नेछौं।

केहि मानिसले अहिले यो राष्ट्रिय भेलालाई लिएर चिन्ता लिनु भएको छ। यसका कारण पार्टी फुट्छ कि भनेर चिन्ता गरेको पाइन्छ। तर लोकतन्त्रको सुन्दरता नै यही हो। युरोपमा पार्टीभित्रको फरक फरक समूहको छुट्टाछुट्टै बैठक बस्छ रे भन्दा हाम्रो लागि अकल्पनीय हुन्थ्यो। राष्ट्रिय भेला आयोजना गरेर हामीले प्रजातान्त्रिक अभ्यास गरेका हौं।

(बुधबार सानेपामा सुरु भएको कार्यकर्ता भेलापछि केहि सञ्चारकर्मीसँग नेकपा–एमालेका उपमहासचिव घनश्याम भुसालले गरेको कुराकानीमा आधारित)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .