ad ad

राजनीति


जसपालाई माओवादी केन्द्रको प्रस्ताव : चुनावसम्मका लागि कार्यगत एकता गरौँ

जसपालाई माओवादी केन्द्रको प्रस्ताव : चुनावसम्मका लागि कार्यगत एकता गरौँ

नेपालखबर
फागुन २९, २०७७ शनिबार ६:४५,

नेकपा माओवादी केन्द्रले जनता समाजवादी पार्टी (जसपा)सँग कार्यगत एकता गरेर अगाडि बढ्न प्रस्ताव गरेको छ।

शनिबार बिहान माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको दुई दलको छलफलमा माओवादीले जसपालाई नयाँ सरकारमा मात्र नभई चुनावसम्मै कार्यगत एकता गरेर अगाडि बढ्न प्रस्ताव गरेको छलफलमा सहभागी एक नेताले बताए।

माओवादी केन्द्रको उक्त प्रस्तावप्रति आफूहरु सकारात्मक रहेको जवाफ जसपाका नेताहरुले दिएको ती नेताले जानकारी दिए।

‘नयाँ सत्ता समीकरण मात्र होइन, चुनावलाई केन्द्रबिन्दुमा राखेर कार्यगत एकता गरेर जाऊँ भन्ने माओवादी केन्द्रको प्रस्ताव आएको छ’, छलफलमा सहभागी जसपाका एक नेताले भने, ‘हामी सकारात्मक छौँ भन्ने जवाफ दियौँ, थप छलफल पार्टीमा गर्छौँ।’

छलफलमा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष्य नारायणकाजी श्रेष्ठ, नेताहरु वर्षमान पुन, जनार्दन शर्मा, देव गुरुङ र जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेताहरु अशोक राई र राजेन्द्र महतो सहभागी थिए।

बिहीबार बसेको जसपाको पदाधिकारी बैठकले वर्तमान राजनीतिक समस्या समाधानका विषयमा प्रमुख तीन दलसँग शीर्ष नेताहरुले छलफल गर्ने निर्णय गरेको थियो।

सोहीबमोजिम जसपाले बिहीबार एमाले, शुक्रबार कांग्रेस, शनिबार माओवादी केन्द्रसँग छलफल गरेको हो।

माओवादीको प्रस्ताव सकारात्मक रहेको भन्दै यसबारे पार्टीमा छलफल गरेर अगाडि बढ्ने ती नेताले बताए।

याे पनि : 

माओवादी केन्द्रको स्थायी कमिटी बैठकको निर्णय : गृहमन्त्री थापासहित आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने, एमालेमा लागेकालाई स्पष्टीकरण सोध्ने

मिलेर सत्तामा जान कांग्रेससँग जसपाको प्रस्ताव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .