सर्वोच्च अदालतको फैसलाबाट साविकका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अस्तित्वमा आएसँगै सुदूरपश्चिम प्रदेश सरकार प्रभावित हुने भएको छ। दुई दल मिलेर बनेकाे प्रदेश सरकार सर्वोच्चको फैसलाले संकटमा परेको हो। पूर्वएमाले र माओवादी केन्द्र मिलेर बनेको सुदूरपश्चिम प्रदेश सरकार अब अल्पमतमा परेको छ।
नेकपाको नाम विवादमा सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला गरेर नेकपा एमाले र माओवादी केन्द्र एकीकरण हुनुपूर्वकै अवस्थामा पुर्याएपछि पूर्वमाओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका त्रिलोचन भट्ट नेतृत्वको सरकार संकटमा परेको हो।
५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा २५ सिटमा पूर्व–एमाले र १४ सिटमा पूर्व–माओवादी केन्द्रले जितेको थियो। यस्तै नेपाली कांग्रेसले १२ र जनता समाजवादी पार्टीले २ स्थानमा जितेको थियो।
पूर्वएमाले र माओवादी केन्द्र ब्युँतिएपछि मुख्यमन्त्री भट्ट अल्पमतमा परेका हुन्। कानूनी रुपमा मुख्यमन्त्री भट्ट अल्पमतमा रहेकाले सरकार संकटमा परेको पूर्व–एमालेबाट निर्वाचित एक प्रदेश सभा सदस्यले बताए।
‘कानूनी रुपमा संख्याको हिसाबले मुख्यमन्त्री अल्पतमा पर्नु भएको छ। अगाडि मुख्यमन्त्री ढुक्क हुनु हुन्थ्यो। तर अब खतरामुक्त रहनु भएन’ उनले नेपालखबरसँग भने, ‘विश्वासको मत लिनु पर्ने तथा अविश्वासको प्रस्तावको सामना गर्नु पर्ने अवस्था आउन सक्छ। केन्द्रको निर्णयअनुसार हामी अगाडि बढ्छौँ।’
सर्वोच्च अदालले नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण बदर गर्दै पूर्ववत् अवस्थामा पुर्याएकाले यताउता लागेका सांसदहरु मूल पार्टीमै आउनु पर्ने उनको धारणा छ।
‘पहिले जुन पक्षमा लागे पनि अब एमाले एक ठाउँमा र माओवादी एक ठाउँमा हुनु पर्छ। यदी कसैले त्यसो नगरेमा पद धरापमा पर्छ’ उनले भने।
नेकपा एमाले र माओवादी केन्द्र एक्लैले सरकार गठन गर्न सक्ने अवस्था नरहेकाले दुवैका लागि प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी निर्णायक बन्ने देखिन्छ। सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि २७ सांसद आवश्यक पर्छन्।
२५ प्रदेश सभा सांसद रहेको सबैभन्दा ठूलो पार्टी एमालेले कांग्रेस वा जनता समाजवादी पार्टीमध्ये एकसँग सहकार्य गरेको अवस्थामा सरकार गठन गर्न सक्छ। यस्तै पूर्व–माओवादी केन्द्रले सरकार बनाउन नेपाली कांग्रेस र जनता समाजवादी पार्टी दुवैसँग सहकार्य गर्नु पर्ने देखिन्छ।
यद्यपी प्रतिनिधि सभा विघटन पछि पूर्व–एमाले र माओवादी केन्द्रबाट निर्वाचित केही सांसद अर्को पक्षमा लागेका छन्।
सांसद जोशी फर्किए माओवादीमा
सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशदत्त जोशी दाहाल–नेपाल समूहमै फर्किएका छन्। पुस ५ मा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि दुई कित्तामा विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (अदालतको फैसला पूर्व) मा पूर्वमाओवादी पृष्ठभूमिका जोशी नेता लेखराज भट्टसँगै केपी ओली समूहमा प्रवेश गरेका थिए।
ओली समूहमा प्रवेश गरेको दुई महिनापछि जोशी सोमवार दाहाल–नेपाल समूहमा फर्किएका हुन्। जोशी तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट कञ्चनपुर क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।
प्रतिक्रिया