ad ad

राजनीति


पार्टीको नीति नै सरकारमा गएर देश चलाउने भन्ने हो : बाँस्तोला

पार्टीको नीति नै सरकारमा गएर देश चलाउने भन्ने हो : बाँस्तोला

नेपालखबर
फागुन २३, २०७७ आइतबार ७:५६,

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले अहिले नै सरकारमा जाने/नजाने विषय महत्वपूर्ण नभएको बताएका छन्।

आइतबार चितवनमा पत्रकारसँग कुरा गर्दै नेता बाँस्तोलाले पार्टीको नीति सरकारमा जाने र देशलाई चलाउने भएको स्पष्ट पारे।

सरकार बनाउन साथ दिने जानकारी दिँदै उनले भने, ‘सरकारसँग भएका तीनबुँदे सहमति कार्यान्वयनपछि अरु कुरा खुल्दै जान्छ।’

उनले संसदीय व्यवस्थामा देखिएका समस्या समाधान गर्दै वैज्ञानिक समाजवादको बाटोमा अघि बढ्ने गरी सरकार निर्माणमा सहयोग गर्ने पार्टीको नीति रहेको जानकारी दिए।

उनले भने, ‘हामी सरकारमा नजाने भन्ने होइन। संसदीय व्यवस्थामा देखिएका समस्यालाई समाधान गरेर वैज्ञानिक समाजवादको बाटोमा अगाडि बढ्ने गरेर सरकारलाई सहयोग गर्ने हो।’

सरकारसँग भएका सहमति कार्यान्वयन गर्दै देशको विकासमा सबै दललाई एकताबद्ध गरेर अघि बढाउने उनको भनाइ थियो।

सरकारसँग गरिएको सहमति प्रारम्भिक कुरा भएको उनले बताए।

पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा, पार्टीका कार्यकर्ता रिहा र नेकपाले देशको राजनीतिक समस्यालाई शान्तिपूर्णरुपमा छलफलका माध्यमबाट समाधान गर्ने विषयमा मात्रै सहमति गरेको नेता बाँस्तोलाको भनाइ थियो।

उनले भने, ‘नेता कार्यकर्ता रिहाइको प्रक्रिया शुरु भएको छ। अब हाम्रो छलफल देशको राजनीतिक समस्या, आर्थिक समस्यालाई समाधान गर्ने विषयमा चल्छ।’ आफूसँग देशको समस्या समाधानका लागि बृहत् खाका रहेको उनले दाबी गरे।

आफ्ना नेता कार्यकर्तासँग हतियार नरहेको जनाउँदै उनले राजनीतिक दललाई त्यस विषयमा नआत्तिन आग्रह गरे। उनले भने, ‘हामीसँग हतियार छैन। यस विषयमा कोही आत्तिनुपर्दैन।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .