ad ad

राजनीति


महतोको प्रश्नः १७ हजार मार्ने प्रचण्ड र टाउको काट्ने ओली प्रधानमन्त्री हुने, थारु चाहिँ जेलमा बस्नुपर्ने? (भिडिओ)

महतोको प्रश्नः १७ हजार मार्ने प्रचण्ड र टाउको काट्ने ओली प्रधानमन्त्री हुने, थारु चाहिँ जेलमा बस्नुपर्ने? (भिडिओ)

गोकुल जोशी
फागुन १७, २०७७ सोमबार १३:९,

जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले सरकारले षड्यन्त्रपूर्वक टीकापुर हत्याकाण्ड गराएको आरोप लगाएका छन्।

जसपाले सोमबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतोले आन्दोलनकारी रेशम चौधरी र लक्ष्मण थारुलाई टीकापुर घटनामा षड्यन्त्रमूलक ढंगले फसाइएकोे आरोप लगाएका हुन्।

उनले उत्पीडित जनताले हाम्रा पनि अधिकार, पहिचान संविधानमा राख्देऊभन्दा सरकार गोली हानेर हत्या गरेरको र त्यसपछि संविधान जारी गरेको बताए। ‘के हो त्यो टीकापुर घटना? थारुले आफ्नो पहिचान मागेको न हो। आफ्नो पहिचान संविधान राख्देऊ, पहिचानसहितको संघीयता देऊ भनेको हो’, उनले भने, ‘तर, विद्रोहमा षड्यन्त्र भएर दुर्घटना निम्तियो। दुर्भाग्य केही सुरक्षाकर्मी मारिए। राज्यपक्षबाट षड्यन्त्रमूलक ढंगले त्यो काम भएको हो।’

उनले षड्यन्त्र गरेरै आन्दोलनकारी रेशम चौधरी र लक्ष्मण थारुलाई आजीवन जेल सजाय सुनाइएको आरोप लगाए।

उनले आदिवासी, जनजाति, दलित, मुस्लिम, थारु, मधेसीले आफ्नो अधिकार तथा पहिचानको माग गर्दा हत्या, हिंसा हुने गरेको बताए। अधिकार, पहिचानको लागि आन्दोलन गर्नु अपराध हो भने जनयुद्धका नाममा १७ हजार मान्छे मार्ने माओवादी आन्दोलनको नेता पुष्पकमल दाहाल प्रचण्ड र झापा आन्दोलनमा टाउको काट्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि कारबाही गर्नु पर्ने उनको माग छ।

‘माओवादी आन्दोलनका क्रममा ५ हजार सुरक्षाकर्मीसहित १७ हजार जनताका छोराछोरी मारिएका थिए। अनि खोइ प्रचण्ड जेल गएको ? रेशम चौधरी मात्रै जेल जाने। यो सबैको नेपाल भयो त? कानून सबको लागि बराबर भयो त?’, उनले भने, ‘रेशम चौधरीलाई आजीवन काराबासको सजाय दिने हो भने १७ हजार वर्ष जेल सजाय हुन्छ प्रचण्डलाई। एक देशमा दुई कानून हुन्छ र?’

उनले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली सामन्तका नाममा टाउको काटेर हिँडेको भन्दै उनलाई पनि कारबाही हुनुपर्ने बताए। ‘झापा आन्दोलनमा केपी शर्मा ओलीले बञ्चरोले टाउको काटेका होइनन्? अनि उनी देशको प्रधानमन्त्री हुने, प्रचण्ड देशको प्रधानमन्त्री हुने अनि थारु चाहिँ जेलमा बस्नु पर्ने? यही हो सबैको साझा फूलबारी, यही हो सबैको देश?’, उनले प्रश्न गरे।

नेपाल बहुल जाति, धर्म, संस्कृतिको साझा फूलबारी भए पनि शासकहरुले त्यो गीतमा मात्रै सीमित राखेको भन्दै नेता महतोले आपत्ति जनाए।

‘नेपाल सयौँ थुंगा फूलमा एउटा माला नेपाली हौ त?’ राष्ट्रिय गीतको प्रसंग निकाल्दै नेता महतोले प्रश्न गर्दै भने, ‘खोई नेपाल सबैको नेपाल बनाएको? यो देशमा खाली गाना गाउने काम मात्रै भइरहेको छ।’

एकीकरणपछि तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल चार जात, छत्तीस वर्णको साझा फूलबारी हो भन्ने सन्देश दिएको भए पनि त्यसपछिका कुनै पनि शासकले त्यसको अनुशरण नगरेको उनको भनाइ थियो।

पटक–पटक संविधान र शासन फेरिए पनि कहिल्यै पनि व्यवहार र विचार नफेरिएको उनको टिप्पणी छ।

‘देशमा सात/सात वटा संविधान बने पनि नेपालीले जनता त्यसमा अधिकार र पहिचान पाउन सकेका छैनन्’, उनले भने, ‘शासन र संविधान जनता र देशको सुशासन, समृद्धि हुन्छ। तर यो देशमा जनताले न सुशासन पाए न समृद्धि।’

कोरोना र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन विरुद्धको आन्दोलनले पार्टी समायोजनमा ढिलाई भएको बताउँदै नेता महतोले छिट्टै प्रदेश र जिल्लातहमा पार्टी समायोजन हुने दाबी गरे।

भिडिओ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .