नेकपा ओली समूहका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको विषयमा टिप्पणी गरेका छन्।
मनमोहन अधिकारी प्रधानमन्त्री र नेता नेपाल उपप्रधानमन्त्री भएका बेलाको घटना स्मरण गराउँदै उपप्रधानमन्त्री पोखरेलले नेता नेपालले नैतिकताको कुरा उठाउन नमिल्ने दाबी गरेका हुन्।
शनिबार राति सामाजिक सञ्जालमार्फत ईश्वर पोखरेलले गरेको टिप्पणी यस्तो छ :
‘ताजा जनादेशका लागि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले प्रतिनिधि सभा भंग गर्न गर्नुभएको सिफारिसलाई २०५२ साल भदौ १२ गते सर्वोच्च अदालतले खारेज गरेको थियो। उहाँले अस्पतालकै बेडबाट आफूमाथि लगाइएको अविश्वासको प्रस्तावको जवाफ दिनुभएको थियो। मनमोहन अधिकारीले अस्वस्थताका कारण बोल्न कठिन भएपछि तत्कालीन उपप्रधानमन्त्री माधवकुमार नेपालले जवाफ दिने कामलाई निरन्तरता दिनुभएको थियो। यस्तो पृष्ठभूमिसित गाँसिएकाहरूले समेत नैतिकताको हवाला दिँदै अहिले प्रधानमन्त्री केपी ओलीले राजीनामा गर्न दबाब दिइरहेका छन् !! यस्तो अनुचित, क्षुद्र र अनैतिक दबाब किन? संसदको सर्वोच्चतालाई मानेर त्यसको सामना गर्ने कुरा गर्दा केको आपत्ति !?’
प्रतिक्रिया