ad ad

राजनीति


हाम्रो नयाँ पार्टी लोकतान्त्रिक वामपन्थी शक्तिसँग निकट हुनेछः त्रिपाठी (अन्तर्वार्ता)

हाम्रो नयाँ पार्टी लोकतान्त्रिक वामपन्थी शक्तिसँग निकट हुनेछः त्रिपाठी (अन्तर्वार्ता)

उजिर कार्की
फागुन २, २०७७ आइतबार १४:२३,

२०७६ मंसिरबाट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री रहँदै आएका हृदयेश त्रिपाठी नयाँ पार्टी खोल्ने तयारीमा जुटेका छन्। त्रिपाठी २०७४ सालमा भएको आमनिर्वाचनमा तत्कालीन नेकपा एमालेको सूर्य चिन्ह लिएर स्वतन्त्र हैसियतमा चुनाव लडेका थिए। लामो समय मधेशवादी दलमा रहेका उनी पार्टीको प्रमुख नेता भने हुन पाएका छैनन्। पटक पटक सांसद भएका त्रिपाठी संसदीय राजनीतिको अंकगणितमा माहिर मानिन्छन्। नयाँ दल गठन गर्ने तयारीमा रहेका त्रिपाठीसँग सोहि विषयमा नेपालखबरले गरेको संक्षिप्त अन्तरवार्ताः

तपाईले नयाँ पार्टी खोल्ने तयारी गरिरहनु भएको हो?
हामीले स्वतन्त्र राजनीतिक समूहलाई नै राजनीतिक दलको रुपमा रुपान्तरण गर्ने निस्कर्षमा पुगेका हौं।

एक्कासी पार्टी घोषणा गर्न लागिएको देखियो नि?
छलफल त पहिलेदेखि नै चलिरहेको हो। अब चाहिँ पार्टीका लागि आवश्यक दस्तावेजहरु तयार पार्ने, विचार, सिद्धान्तलगायत सबै आवश्यक तयारी गर्ने कामहरु भइरहेका छन्।

पछिल्लो समय अलि बढी गति दिनु भएको हो?
होइन, पहिलेदेखि नै काम भइरहेको हो। पछिल्लो समय त बरु मन्त्रालयको कामले नै फुर्सद पाइएको छैन। भ्याक्सिनकै काममा व्यस्त भइएको छ। जे होस् साथीहरुले ठाउँठाउँमा सानो सानो समूहमा अन्तरक्रिया गरिरहनु भएको छ।

तपाईको अबको पार्टी कस्तो हुन्छ?
तीन वटा कुरा छ। पहिलो कुरा त संघीय लोकतान्त्रिक गणतन्त्र नै यसको मुख्य उद्देश्य हो। दोस्रो कुरा राजकीय सत्ता र सार्वभौम सत्ता नेपाली जनतामा रहनुपर्छ भन्ने नै हाम्रो मान्यता हो। यसको बर्गीय आधार भनेको किसान हो। त्यसपछि देशमा रहेका विद्यमान विभेदहरु छन्, त्यसको अन्त्य वर्तमान संविधानको प्रस्तावनामै उल्लेख छ। यस्तै साना किसान र साना उद्यमीहरु मुख्य प्राथमिकतामा पर्नेछन्। जो अहिलेसम्म राजनीतिक दलहरुबाट छुटेका छन्। अन्य पार्टीको ध्यान उनीहरुमा पुगेको छैन। हाम्रो पार्टी उनीहरु समेटिएको पार्टी हुनेछ।

पहिले पनि सूर्यचिन्हबाट चुनाव लडिसकेको र अहिलेको सरकारमा रहेका कारण केपी ओलीसँगै मिल्नुहुन्छ कि भन्ने आकलन पनि थियो नि?
त्यो आकलन गलत थियो। मैले चुनावमा एक हुँदाखेरि त सदस्यता लिइनँ भने यस्तो केही होइन। नजिकको शक्तिको रुपमा रहनु स्वभाविक हो। उहाँहरु नजिक रहनुहुन्छ। लोकतान्त्रिक वामपन्थी शक्ति नै एउटा नजिकको शक्तिको रुपमा रहनु स्वभाविक हो। तर मेरो सक्रियतालाई र मेरो विचारको बोझलाई मान्छेले झेल्न पनि त सक्नु पर्‍यो नि।

यो पनि : नयाँ पार्टी गठनको तयारीमा त्रिपाठी, ओली समूहमा पस्न लागेका जसपाका नेता रोकिए

चुनावलाई लक्षित गरेर अहिले यो तयारीलाई तिब्रता दिइएको हो?
होइन। पहिलेदेखि नै हामी स्वतन्त्र राजनीतिक संगठनको रुपमा संगठित थियौं नि। हामीले गएको चुनावभन्दा डेढ दुई महिनाअगाडि स्वतन्त्र राजनीतिक समूह निर्माण गरेका थियौं। निरन्तर संगठित भइरहेकै थियौं। कुनै दिन यसलाई राजनीतिक दलको रुपमा रुपान्तरण गर्न सक्छौं या कुनै पार्टीसँग एकीकरण पनि गर्न सक्छौं भन्ने लागेको थियो। तर संगठित त हामी पहिले देखिनै थियौं।

तपाईको पार्टीको नेतृत्वमा को को हुनुहुन्छ?
पहिले चार जना हाम्रा साथीहरु प्रतिनिधि सभाकै चुनाव लडेका थिए। ७–८ जना प्रदेशको चुनाव लडेका थिए। विशेष गरी लुम्बिनी प्रदेशको तराई क्षेत्रको कुरा गर्दैछु म। तत्कालीन पार्टीसँग अलग भएका धेरै साथीहरु हामीसँग छन्। अन्य दलका साथीहरुसँग पनि छलफल भइरहेको छ।

पार्टीको घोषणा कहिले हुन्छ?
तयारी गर्दैछौं। तपाईहरुलाई थाहा दिएर नै घोषणा गर्ने हो। भूमिगत ढंगले हुँदैन। आफ्ना विचार, सिद्धान्त, नीति कार्यक्रम सबैसहित हामी घोषणा गर्छौं। यहि मितिमा भन्ने छैन। तयारी सकिनासाथ हामी गरिहाल्छौं। एक महिनाभित्रमा त भइसक्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .