ad ad

राजनीति


हड्तालका बीच स्कर्टिङ गरेर भए पनि ओलीका कार्यकर्ता ल्याउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

हड्तालका बीच स्कर्टिङ गरेर भए पनि ओलीका कार्यकर्ता ल्याउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

उजिर कार्की
माघ २१, २०७७ बुधबार १३:४८,

शुक्रबार राजधानीमा हुने प्रधानमन्त्री केपी ओलीको शक्ति प्रदर्शनमा आउनेहरुलाई जसरी पनि ल्याउन गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ।

गृहमन्त्री रामबहादुर थापाले बुधबार मन्त्रालयमा बोलाएर सुरक्षा निकायलाई आफ्नो पक्षको प्रदर्शनलाई सहजीकरण गर्न निर्देशन दिएका हुन्। ओली पक्षले शुक्रबार नारायणहिटीअगाडि शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ।

तर, प्रचण्ड–नेपाल पक्षले बिहीबार आमहड्ताल घोषणा गरेको छ। आमहड्तालका कारण आफ्नो कार्यक्रम प्रभावित हुन नदिन गृहमन्त्री थापाले प्रहरीलाई निर्देशन दिएका हुन्।

शक्ति प्रदर्शन गर्न उपत्यका बाहिरबाट ठूलो संख्यामा कार्यकर्ता ल्याउने तयारी रहेको र त्यसलाई सहजीकरण गर्न मन्त्री थापाले सुरक्षा निकायलाई निर्देशन दिए।

२३ गतेको सभालाई ओलीपक्षले प्रतिष्ठाको विषय बनाएको छ। प्रधानमन्त्री ओलीले शक्ति प्रदर्शन कस्तो हुन्छ, २३ गते देखाउने चुनौती विपक्षीलाई दिइसकेका छन्।

त्यसका लागि बुधबारदेखि नै उपत्यका बाहिरबाट बस आउन थाल्ने र शुक्रबार बिहानसम्म कार्यकर्ता आउने गृहमन्त्रीले प्रहरीलाई जानकारी गराएका छन्।

आफ्ना कार्यकर्ता ल्याउन अवरोध भए एक ठाउँमा जम्मा गरेर एकसाथ स्कर्टिङ गरेर भएपनि कार्यकर्ता ल्याउन दिर्नेशन दिएको प्रहरी स्रोतको भनाइ छ।

ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि दुई पक्षबीच विवाद निर्वाचन आयोग, सर्वोच्च र सडकसम्म पुगेको छ।

यस्तै, आमहड्ताललाई लक्षित गरी आ–आफ्नो क्षेत्रमा सुरक्षा योजना बनाएर कडाइका साथ कार्यन्वयनमा लाग्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिइसकेको छ। बुधबार आकस्मिक रुपमा बसेको बैठकले देशभर आफ्नो क्षेत्रमा आवश्यक समन्वय गर्न र सोही अनुसारको सुरक्षा व्यवस्था कायम गर्न निर्देशन दिइएको प्रहरी प्रवक्ता वसन्त कुँवरले बताए।

‘राजनीतिक दलहरुको कार्यक्रममा कुनै रोकतोक हुँदैन। तर नागरिकका मौलिक हकलाई असर गर्न भएन,’ कुँवरले नेपालखबरसँग भने, ‘कानुनले बन्देज गरेका कुनैपनि गतिविधि भए प्रहरीले कारबाहीको दायरामा ल्याउँछ। त्यही अनुसार सर्कुलर गरिएको छ।’

राजधानीको महानगरीय प्रहरी कार्यालसहित सबै जिल्लामा कुनै पनि किसिमको हिंसात्मक गतिविधिहरु, अप्रिय घटना, झडप र गैरकानुनी क्रियाकलाप नहुने गरी सुरक्षा व्यवस्था अपनाउन निर्देशन दिइसकेको एसएसपी कुँवरले बताए।

नागरिकको आवतजावत र पेसा व्यवसाय गर्ने अधिकारलाई सुरक्षित गर्ने प्रहरीको योजना र तयारी रहेको उनले दाबी गरे।

प्रहरीले आन्दोलन केही हिंसात्मक हुन सक्ने र ठाउँठाउँमा झडप हुने आकलन गरेको छ। त्यही अनुसार गस्ती बढाउने तयारी गरिएको छ। यसलाई रोक्न कमान्डरहरुलाई समन्वय गर्न भनिएको र थप गस्ती बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरीले बुधबारदेखि नै बाक्लो संख्यामा सुरक्षाकर्मी सडकमा परिचालन गरेको छ। यस्तै सादा पोसाकका प्रहरीको संख्या पनि बढाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .