राष्ट्रिय मानवअधिकार आयोगले शान्तिपूर्णरुपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको अधिकारको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
प्रतिनिधि सभा विघटनको विरोधमा नागरिक अभियन्ताहरूद्वारा शान्तिपूर्ण रुपमा काठमाडौंमा माघ १२ गते भएको विरोध प्रदर्शनका क्रममा प्रहरीबाट धरपकड तथा बल प्रयोग तथा धरपकड गरी केही अभियन्ताहरुलाई घाइते समेत बनाइएको घटनाप्रति आयोगले मंगलबार विज्ञप्ति निकालेर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संयुक्त राष्ट्रसंघको विश्वव्यापी घोषणापत्र, १९४८ धारा २०, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ को धारा २१ र नेपालको संविधानको धारा १७ ले बिनाहातहतियार शान्तिपूर्वक भेला हुने तथा विचार तथा अभिव्यक्ति राख्न पाउने स्वतन्त्रताको सुनिश्चितता गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ।
‘नागरिकहरूबाट गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट अधिक बल प्रयोग गरी घाइते बनाइनु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून विपरीतको कार्य हो। यसतर्फ संवेदनशील हुन आयोग आग्रह गर्दछ’ आयोगले भनेको छ।
कुनै पनि बहानामा नागरिकहरुको मौलिक हक तथा स्वतन्त्रताको हरण गर्ने कार्य नगर्न, सभा सम्मेलन गर्ने र आफ्नो विचार राख्ने नागरिकको अधिकारको सम्मान गर्न तथा कानून कार्यान्वयन गर्ने अधिकारीहरुका लागि बल तथा हतियार प्रयोग सम्बन्धी संयुक्त राष्ट्र संघीय आधारभूत सिद्धान्त १९९० को विपरित हुने गरी कार्य नगर्न आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।
Shares
प्रतिक्रिया