नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधिमा सारा बेसोलो न्यान्ती नियुक्त भएकी छन्।
उनले आज मंगलबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेट गरी आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरिन्।
‘राष्ट्रसंघको नेपालस्थित आवासीय प्रतिनिधिको रुपमा आफ्नो कार्यकाल सुरु गर्न पाउँदा म साँच्चिकै खुशी छु,’ उनले भनेकी छन्।
अति कम विकसित मुलुकको सूचिबाट स्तरोन्नति हुने नेपालको आकांक्षालाई राष्ट्रसंघले प्राथमिकताका साथ सहयोग गर्ने उनले बताएकी छन्।
कोभिड–१९ को महमारीबीच नेपालको जिम्मेवारी सम्हाल्नुलाई आफूले निकै महत्वका साथ लिएको उनको भनाइ छ।
यतिबेला कोरोनाबाट सिर्जित समस्या स्वास्थ्यमा मात्र सीमित नभई यसले सामाजिक तथा आर्थिक चुनौति समेत सिर्जना गरेको हुँदा यसमा प्रभावकारी संयोजन आवश्यक रहेको उनले बताएकी छन्।
‘कोभिड–१९ का सम्बन्धमा मात्र नभई समग्र आपतकालीन तयारी र सहयोगमा नेपाललाई तत्काल र प्रभावकारीरुपमा मानवीय सहायता जुटाउन म प्रतिबद्ध छु’ न्यान्तीले भनेकी छन्।
राष्ट्रसंघले दीगो विकासका लक्ष्यमै केन्द्रित रहेर आफ्ना गतिबिधिहरु गर्ने भएको हुँदा नेपालमा पनि ती लक्ष्य हासिल गर्न प्रादेशिक तथा स्थानीय सरकारहरुसँगको सहकार्यलाई अझै जोड दिने उनको भनाइ छ।
Shares
प्रतिक्रिया