ad ad

राजनीति


‘सेनाविनाका सेनापति’ बादल नयाँ गुट बनाउने कसरतमा

‘सेनाविनाका सेनापति’ बादल नयाँ गुट बनाउने कसरतमा

उजिर कार्की
पुस १६, २०७७ बिहिबार १५:१५,

आफू निकटका सबै नेताहरुले साथ छाडेपछि एक्लिएका रामबहादुर थापा बादल नयाँ गुट निर्माणको कसरतमा लागेका छन्। आफू एक्लै केपी ओली समूहमा रहेपछि उनी सेनाविनाको सेनापति बनेको आरोप लाग्दै आएको छ।

तर केही दिनयता थापाले आफूलाई लामो समय साथ दिएका नेताहरुलाई फकाउन थालेका छन्।

नेकपा विभाजनपछि प्रचण्डको समूहमा लागेका नेताहरुसँग भेटघाट र टेलिफोन गरेर पुनः साथ दिन आग्रह गरेको उनी निकटको भनाइ छ।

थापाका प्रेस संयोजक किरण भट्टराईले समेत उनी पुनः गुट ब्युँत्याउन सक्रिय भएको स्वीकार गरे।

‘केही दिनदेखि बादल विगतमा आफूनिकट रहेका नेताहरुसँगको नियमित सम्पर्कमा हुनुहुन्छ,’ भट्टराईले भने, ‘कतिपय नेता पुनः साथ दिन सहमत हुनु भएको छ।’

छलफलमा नेताहरुले बेलैमा थापाले कित्ता स्पष्ट नगरेकोले आफूहरु अन्यौलमा परेको गुनासो गरेका थिए।

उनका समूहका नेताले बादल पनि प्रचण्ड समूहमा लाग्ने आशासहित अन्तिम समयसम्म पर्खिएका थिए। अन्तिम दिनसम्म पनि आफ्नो गुटको छुट्टै भेला गरेका बादलले उनीहरुलाई त्यतिबेला यही समूहमा रहनुपर्छ समेत भनेनन्।

उनको आश्चर्यजनक मौनताका कारण उनीनिकट नेताहरुले प्रचण्ड समूहमा जाने निर्णय गरिसकेका थिए। उनका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले समेत थापालाई अन्तिममा साथ दिएनन्।

तर पुनः गुट ब्युँत्याउने कसरतमा लागेका थापाले बिहीबार पूर्वजनमुक्ति सेनाका ब्रिगेड कमान्डरहरुसँग छलफल गरेर साथ मागेका थिए। छलफलपछि दीपेन्द्र शाह, टुकबहादुर थापा, गगनबहादुर शाही र पूर्वमाओवादीका रोल्पा सचिव रेशम पुन थापालाई साथ दिन तयार भएको उनको सचिवालयको दाबी छ।

पूर्व माओवादीका केन्द्रदेखि स्थानीय नेताहरुलाई समेत थापाले ओली समूहमा ल्याउन कसरत गरिरहेका छन्। तर, धेरैजसो नेताहरुले भने अदालतमा विचाराधीन मुद्दासँगै निर्वाचन आयोगबाट पार्टीको विवाद नटुंगिएसम्म निर्णय दिन नसक्ने बताएका छन्।

‘उहाँहरुको विचार नेकपा र सूर्य चिन्ह जुन समूहमा रहन्छ त्यही समूहमा जाने जस्तो देखिन्छ, केहीले स्थायी समिति र केहीले पोलिटब्युरोमा भूमिका खोज्नु भएको छ, जसका कारण तत्काल टुंगिसकेको छैन,’ श्रोतले भन्यो।

थापाको निसानामा प्रदेश सरकारका पूर्व माओवादी मन्त्रीहरु पनि परेका छन्। बागमती, गण्डकी र कर्णाली प्रदेश सरकारमा रहेका माओवादी मन्त्रीहरुसँग समेत बादलले पछिल्ला दिनमा छलफल बढाएका छन्। यीमध्ये कर्णाली प्रदेशका गृहमन्त्री नरेश भण्डारी पहिले बादलनिकट मानिन्थे। तर पछिल्लो समय उनी टाढिएको प्रचण्ड निकटको बुझाइ छ।

पम्फा भुसाल, देव गुरुङ, हितमान शाक्य, अमृता थापा, यशोदा सुवेदी, लेखनाथ न्यौपाने, रामदीप आचार्य लगायत केन्द्रीय नेताहरु अहिले थापाको साथमा छैनन्। नेताहरुले साथ छाडेसँगै थापा प्रचण्डसँग असन्तुष्ट तल्लो तहका नेताहरुको समेत सम्पर्कमा पुग्न थालेका हुन्।

पूर्वजनमुक्ति सेनाका कमान्डर कालिबहादुर खामसँग समेत थापाले सम्पर्क बढाएका छन्। उनी हत्या अभियोगमा फरार सूचीका रहेका व्यक्ति हुन्। यस्तै, थापा सरकारमा सहभागी माओवादी मन्त्रीहरुलाई पनि एक भएर जानुपर्छ भन्दै आफ्नो शक्ति बढाउने कसरतमा लागेका छन्।

थापाले पार्टीमा ओलीपछिको वरियता पाउनुपर्ने दाबी गर्दै आएका छन्। पूर्वमाओवादी नेताहरुलाई एकजुट बनाउन सके त्यो सहज हुने उनको बुझाइ छ।

तर, सरकारमा सहभागी पूर्वमाओवादी नेताहरु ओलीसँगै कुरा टुंग्याएर मन्त्री भएका हुन्। केही नेता त थापा अलमलमै हुँदा ओली समूहमा खुलिसकेका थिए।

थापाले ओली समूहको केन्द्रीय सदस्यमा मनोनित गर्ने कोटा समेत पाएको निकट श्रोतको दाबी छ। जसका लागि उनी जिल्लाजिल्लामा फोन गरेर नेताहरु फकाउन लागि परेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .