संसदबाहिर रहेका चार पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीको इसारामा संसद विघटन गरेको आरोप लगाएका छन्।
मंगलबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी–माओवादी), आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै सत्ता र सरकारमा आएको संकटलाई फाँसिवादी तरिकाले हल गर्न ओलीले विदेशी इसारामा संसद विघटन गरेको बताएका हुन्।
दलाल तथा प्रतिक्रियावादी सत्ता, व्यवस्था र सरकारमा आएको गम्भीर संकटलाई फाँसिवादी तरकाले हल गर्ने दुष्प्रयासस्वरुप र वैदेशिक शक्तिको आड, भरोसा र इसारामा केपी सरकारले संसद विघटन गरेको हो भन्ने हाम्रो ठम्याइ छ’, विज्ञप्तिमा भनिएको छ।
उनीहरुले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम निरंकुश र फाँसिवादी रहेको भन्दै यो सत्तारुढ नेकपाको आन्तरिक मामिला नभएर संसदीय व्यवस्थाकै असफलता भएको दावी गरेका छन्।
संसद पुनःस्थापना र मध्यावदी निर्वाचन दुबैले जनताका वास्तविक समस्याको हल नगर्ने भन्दै उनीहरुले दलाल प्रतिक्रियावादीसत्ताको अन्त्य र संघीय जनगणतन्त्र÷ वैज्ञानिक समाजवादको स्थापना हुनुपर्ने बताएका छन्।
उनीहरुले प्रधानमन्त्री ओलीको कदमविरुद्ध चार पार्टीबीच संयुक्त मोर्चा निर्माणमा सहमति भएको र आगामी कार्यक्रम पनि छिट्टै सार्वजनिक गर्ने बताएका छन्।
Shares
प्रतिक्रिया