ad ad

राजनीति


प्रचण्डलाई ओलीको फोन : तपाईं र म मिलेर जाऔँ, बैठकअघि छलफल गरौँ

प्रचण्डलाई ओलीको फोन : तपाईं र म मिलेर जाऔँ, बैठकअघि छलफल गरौँ

नेपालखबर
पुस १, २०७७ बुधबार ७:४,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच दूरी बढिरहेका बेला अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर मिलेर जान आग्रह गरेका छन्।

बुधबार बिहान प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेर दुई अध्यक्ष मिलेर जान प्रस्ताव गरेको खुमलटार स्रोतले बतायाे।

‘तपाईं र म मिलेर जाऔँ, आउनुहोस् बैठकअघि नै छलफल गरौँ’, प्रधानमन्त्रीले प्रचण्डलाई भनेको भनाइ उद्धृत गर्दै खुमलटार स्रोतले नेपालखबरलाई भन्यो।

स्राेतका अनुसार अध्यक्ष प्रचण्डले आफू छलफलका लागि सधैँ तयार रहेको र त्यसका लागि ओलीलाई बैठकमा आउन प्रस्ताव गरेका थिए।

‘तपाईंसँग छलफल गर्नका लागि मलाई कुनै समस्या छैन, तपाईंलाई सहज हुनेगरी बालुवाटारमा बैठक राखिएको छ, बैठकमा आउनुहोस् त्यहाँ पनि छलफल गरौँ’, अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई दिएको जवाफ उल्लेख गर्दै स्रोतले भन्यो।

यसअघि प्रधानमन्त्री ओलीको सन्देश लिएर बुधबार बिहान स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र मंगलबार संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डसँग भेटवार्ता गरेका थिए।

पार्टी विवाद उत्कर्षमा पुगिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पार्टी र मन्त्रिपरिषदमा सल्लाह नै नगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाको विवाद थप उत्कर्षमा पुगेको छ। पछिल्लो समय दुई अध्यक्षबीच संवाद नै हुन छाडेको थियो।

प्रतिपक्षी दल कांग्रेस पनि विपक्षमा उभिएका कारण अध्यादेश ल्याएपछि प्रधानमन्त्री ओली थप अप्ठ्यारोमा परेको चर्चा चलिरहेका बेला उनले प्रचण्डलाई छलफलका लागि बोलाएका हुन्।

अध्यक्ष प्रचण्डसहित सचिवालयका बहुमत सदस्यहरुले मंगलबार नै सो अध्यादेश फिर्ता हुनुपर्ने माग गरिसकेका छन्।

आज बालुवाटारमा बस्ने स्थायी कमिटीको बैठकमा समेत यो विषयमा उठ्ने उनीहरुले बताएका छन्। त्यसैगरी बैठकले अध्यादेश फिर्ता लिन निर्देशन दिनेसमेत बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .