ad ad

राजनीति


भाजपा नेताको काठमाडौंमा राजनीतिक भेटघाट तीव्र

भाजपा नेताको काठमाडौंमा राजनीतिक भेटघाट तीव्र

नेपालखबर
मंसिर २६, २०७७ शुक्रबार ६:५३,

नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीको विदेश विभागका इन्चार्ज डा. विजय चौथाइवाले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेट गरेका छन्।

शुक्रबार बिहान भएको सो भेटका क्रममा नेपाल र भारतबीचका थुप्रै आपसी हितका विषयमा छलफल भएको चौथाइवालेले बताएका छन्।

सत्तारुढ दल नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणामा नेपाल आएका चौथाइवालेले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए।

भारतबाट एकपछि अर्को भ्रमण भइरहेका बेला भारतको सत्तारुढ दल भाजपाका नेता पनि यहाँका सत्तारुढ नेताको निमन्त्रणामा आएका हुन्।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार बिहीबार प्रधानमन्त्रीसँग भएको भेटका क्रममा नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने र जनस्तरसम्मको द्विपक्षीय सम्बन्धलाई के कसरी थप सुमधुर बनाउन सकिन्छ भन्ने विषयमै केन्द्रित रहेर कुराकानी भएको थियो।

गतवर्षदेखि नेपाल र भारतबीच सीमा विषयमा विवाद हुँदा दुई देशका नेताहरुबीच पनि संवाद तथा भेटवार्ता केहि महिना रोकिएको थियो।

तर गत अगस्त १५ मा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएपछि भने भारत र नेपालबीच बिभिन्न तहमा आपसी भ्रमण र वार्ताहरु पुनः सुरु भएका छन्।

त्यसयता सुरक्षा, कुटनीतिक तथा राजनीतिक स्तरमा पनि वार्ताहरु तीब्ररुपमा भइरहेका छन्।

दुई प्रधानमन्त्रीबीच भएको फोनवार्तापछि भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुख सामन्त गोयल र भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले नेपाल भ्रमण गरेका थिए।

त्यसपछि भारतीय विदेश सचिव हर्षबर्द्धन शृंगलाले भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गरी नेपालको औपचारिक भ्रमण गरेका थिए।

केहि सातापछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि भारत भ्रमण जाने बताइएको छ।

यो पनिः
भारतीय जनता पार्टीका नेता चौथाइवाले नेपाल भ्रमणमा, प्रधानमन्त्री ओलीसँग भेट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .